Logo

 ८ जेठ,काठमाडौं । प्रदेश सरकारमा सत्ता समीकरण फेरबदलसँगै ठूलो राजनीतिक परिवर्तन भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै नेकपा एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री यादवले बर्खास्त गरेका मन्त्रीहरूमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा, र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन्।

जानकारीअनुसार मुख्यमन्त्री यादवले सत्ता समीकरण परिवर्तन हुने संकेत गर्दै ती मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। तर उनीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले बर्खास्त गर्ने निर्णय गरेका हुन्।

यसैबीच नेकपा एमालेका सांसद मोहम्मद समिरलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गरिएको छ। उनलाई हालका लागि विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि नै जनमत पार्टीका दुई मन्त्रीहरूले पनि राजीनामा दिइसकेका थिए, जसले प्रदेश सरकारमा राजनीतिक समीकरण थप अस्थिर बनेको देखिएको छ।

सरकारभित्रको यो फेरबदलसँगै प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।


सम्बन्धित समाचार