८ जेठ,वीरगञ्ज । मधेश प्रदेशसभामा नेकपा एमाले र जनमत पार्टीबीच तीव्र आरोप–प्रत्यारोप भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिएको विश्वासको मतमाथिको छलफलका क्रममा दुई दलका नेताबीच कडा राजनीतिक वाकयुद्ध भएको हो।
छलफलका क्रममा जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले नेपाली कांग्रेस–एमाले गठबन्धनलाई “अप्राकृतिक गठबन्धन” भन्दै टिप्पणी गरेका थिए। त्यसको केही समयपछि जवाफस्वरूप एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीप्रति कडा प्रतिक्रिया जनाए।
प्रदेशसभामा बोल्दै यादवले एमाले जनमत पार्टीभन्दा ठूलो संघीयतावादी शक्ति भएको दाबी गरे। उनले जनमत पार्टीले एमालेमाथि संघीयताको पाठ पढाउने प्रयास गर्नु उपयुक्त नहुने टिप्पणी गरे।
उनले भने, “जेनजी आन्दोलन हुँदा हाम्रो नेतृत्व मात्रै असुरक्षित भएन, तपाईंहरूको कार्यालयसमेत जलाइएको थियो। त्यसैले एमालेमाथि औँला उठाउँदा आफ्नो वास्तविकता पनि हेर्नुपर्छ।”
यादवले जनमत पार्टीलाई लक्षित गर्दै “आफ्नो कमजोरी नदेख्ने तर अरूको सानो गल्ती मात्रै देख्ने प्रवृत्ति” त्याग्न पनि आग्रह गरे।
प्रदेशसभामा भएको यो भनाभनले मधेश प्रदेशको राजनीतिक वातावरण थप तातिएको छ, जहाँ सत्ता गठबन्धन र विपक्षी दलबीचको असहमति अझै चर्किँदै गएको देखिन्छ।




















