८ जेठ,काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले जिल्ला सरकारी वकिल कार्यालय, कास्कीको निवेदनमाथि सुनुवाइ गर्दै उक्त निर्णयलाई सदर गरेको हो।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सोही निर्देशनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गर्दै ती दुई कसुर हटाउने र सहकारी ठगीसम्बन्धी अभियोग भने कायम राख्ने प्रस्ताव गरेको थियो।
अदालतले सरकारी वकिल कार्यालयको निवेदनलाई स्वीकार गरेपछि अब रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै अघि बढ्ने भएको छ।




















