Logo

८ जेठ, काठमाडौँ । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको एकलौटी नेतृत्व र कार्यशैलीलाई लिएर असन्तुष्टि तीव्र रूपमा सतहमा आएको छ। पार्टीका शीर्ष नेताहरूको कार्यविभाजन टुङ्गो लगाउन बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच निकै कडा शब्दमा चर्काचर्की परेपछि बैठक अन्ततः बिनाकुनै निर्णय स्थगित भएको छ।

पार्टी स्रोतका अनुसार एमालेका कुल पाँच उपाध्यक्षमध्ये चार जना अध्यक्ष ओलीको कार्यसञ्चालन पद्धतिका विरुद्ध उभिएका छन् भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै खुलेर ओलीको बचाउमा लागेका छन्। सचिवालय बैठकमा उपाध्यक्षहरूले अध्यक्षको स्वेच्छाचारी शैलीका कारण पार्टी सङ्गठन दिनप्रतिदिन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै तत्काल निर्णय प्रक्रिया र नेतृत्व शैली परिमार्जन गर्न दबाब दिएका थिए।

बैठकमा कार्यविभाजनको सूचीमा असहमति जनाउने र पार्टीको संस्थागत लाइन विपरीत धारणा राख्ने नेताहरूलाई अध्यक्ष ओलीले अप्रत्यक्ष रूपमा कारबाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिने सङ्केत गरेपछि वातावरण एकाएक तनावग्रस्त बनेको थियो। ओलीको यस्तो कडा र धम्कीपूर्ण अभिव्यक्ति आएलगत्तै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बैठकमा आक्रामक रूपमा प्रस्तुत हुँदै प्रतिवाद गर्नुभएको थियो।

गुरुङले अध्यक्ष ओलीलाई सिधै प्रश्न गर्दै भन्नुभयो, “यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?” बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले अन्त्यतिर कडा र दमनकारी भाषा प्रयोग गरेपछि गुरुङले सहकर्मीहरूसँग मर्यादित व्यवहार गर्न नसकिएको भन्दै कडा आपत्ति जनाउनुभएको थियो।

“अध्यक्ष ज्यूले अलि धम्कीपूर्ण र चेतावनीको शैलीमा कुरा राख्नुभयो। पार्टी सच्चिनुपर्ने बेलामा उल्टै असहमति राख्नेहरूलाई सिध्याउने जस्तो कुरा आएपछि पृथ्वीसुब्बा गुरुङले पनि निकै कडा प्रतिवाद गर्नुभयो,” बैठकमा सहभागी ती नेताले भने, “पार्टीलाई विधि र पद्धतिमा चलाउनु पर्नेमा उल्टै फरक मत राख्नेलाई जिम्मेवारीविहीन बनाउने सङ्केत गरिएपछि धेरै नेताहरू रुष्ट बनेका छन्।”

एमालेभित्र पछिल्लो समय नेतृत्व हस्तान्तरणको एजेन्डा, पार्टी सञ्चालनको लोकतान्त्रिक विधि र महत्त्वपूर्ण निर्णय प्रक्रियामा एकलौटीपनलाई लिएर आन्तरिक किचलो बढ्दै गएको थियो। भोलिको बैठकबाट नेताहरूको कार्यविभाजन प्रस्ताव पारित गर्ने भनिए पनि आजै शीर्ष नेताहरूबीच खुलेआम मतभेद र भनाभन भएपछि एमालेभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ। यस घटनाले एमालेभित्र आगामी दिनमा वैचारिक र साङ्गठनिक ध्रुवीकरण थप बढ्ने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्।


सम्बन्धित समाचार