Logo

 ९ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार नचल्ने र सदस्यता नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।

शनिबार बिहान डा. शेखर कोइरालाको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले पार्टीको क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा कुनै समस्या नरहेको दाबी गरे। उनले सदस्यता अद्यावधिक कार्यमा अवरोध पुर्‍याउनेलाई जिम्मेवारीबाट हटाइने स्पष्ट पारे।

“कुनै पनि तहबाट कसैले सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टी विधानअनुसार ‘धन्यवाद’ भनेर अर्को साथीलाई जिम्मेवारी दिन्छु,” थापाले भने, “त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ।”

उनले पार्टीको क्रियाशील सदस्यको तथ्यांक केन्द्रसँग हुनु सदस्यहरूको अधिकार सुदृढ गर्न आवश्यक रहेको बताए। उम्मेदवार चयन र सूचना प्रवाहमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

थापाले पार्टीका सबै संयन्त्र सहमति र सल्लाहका आधारमा गठन गर्न आफू तयार रहेको पनि बताए। सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति लगायतका संरचना सबै नेतासँगको परामर्शमा बनाइने उनले स्पष्ट पारे।

“पार्टीका नेताहरूले जसलाई राख्दा चित्त बुझ्छ भन्नुहोस्, ती सबैलाई समेट्न म तयार छु,” उनले भने।

फरक प्रसंगमा उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानाजानी सार्वजनिक नगरिएको आरोप लगाए। प्रतिवेदन सच्याउन आयोगमाथि दबाब परेको दाबी गर्दै उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

“मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाइएको छ। यदि हाम्रो कुरा गलत हो भने तत्काल सार्वजनिक गरियोस्,” थापाले भने।


सम्बन्धित समाचार