९ जेठ,काठमाडौं । आसिम मुनीर इरानको राजधानी तेहरान पुगेका छन्। पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मुनीर हिजो तेहरान पुगेका हुन्।
भ्रमणका क्रममा उनले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा समसामयिक सुरक्षा अवस्थाबारे उच्चस्तरीय छलफल गर्ने बताइएको छ। यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले पनि आसिम मुनीरसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन्। उनले इरानसँग छिट्टै कुनै समझदारी बन्न सक्ने आशा व्यक्त गरेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको बताएका छन्। तर इरानको युरेनियम भण्डारण तथा हर्मुज जलमार्ग को नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन।
अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताएका छन्।
दुई देशबीचको तनाव र युद्धका कारण ठूलो आर्थिक तथा मानवीय क्षति भएको छ। विश्वव्यापी तेल आपूर्तिमा अवरोध उत्पन्न हुँदा तेलको मूल्य तीव्र रूपमा बढेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा त्यहाँको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ।
खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन प्रभावित भएका छन्। साथै विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्। विश्लेषकहरूले युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ्न सक्ने चेतावनी दिएका छन्।


















