Logo

 ९ जेठ,काठमाडौं । चीनको साआन्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विष्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ। सरकारी सञ्चारमाध्यमले घटनाको पुष्टि गरेका हुन्।

स्थानीय समयअनुसार शुक्रबार साँझ ७:२९ बजे तोङझोउ ग्रुप को सञ्चालनमा रहेको खानीमा विष्फोट भएको थियो। घटनाको समयमा करिब २४७ मजदुरहरू खानीभित्र काम गरिरहेका थिए।

सरकारी समाचार एजेन्सी शिन्हुआ समाचार एजेन्सी ले दिएको जानकारीअनुसार साआन्सी प्रान्तको उक्त खानीमा ग्यास विष्फोटका कारण ठूलो जनधनको क्षति भएको हो।

घटनापछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। घाइतेहरूको उपचार भइरहेको र बेपत्ताहरूको खोजी प्रयास तीव्र पारिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनका राष्ट्रपति शी जिनपिङ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्न र उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

यस घटनाले चीनको खानी सुरक्षा प्रणालीबारे पुनः प्रश्न उठाएको छ, जहाँ औद्योगिक दुर्घटनाहरूले समय–समयमा ठूलो मानवीय क्षति पुर्‍याउँदै आएका छन्।


सम्बन्धित समाचार
भर्खरै