Logo

९ जेठ,वीरगञ्ज । चाँडै सुरु गरौँ, जीवनभरका लागि दृष्टि जोगाऔँ भन्ने मूल नाराका साथ मे १८ देखि २४ सम्म विश्वभर मनाइने ‘वर्ल्ड मायोपिया अवेरनेस विक २०२६’ को अवसरमा वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरिएको छ।

सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको र्‍याली घण्टाघर, मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

उक्त कार्यक्रमको मुख्य आयोजक विरगन्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पताल रहेको थियो भने नारायणी आँखा अस्पताल र सिद्धि आइ केयर सेन्टरको सक्रिय सहभागिता रहेको थियो।

कोणसभामा विशेषज्ञ वक्ताका रूपमा डा. विपिन विष्ट र डा. आदित्य प्रसादले मायोपिया सम्बन्धी महत्वपूर्ण चिकित्सकीय जानकारी प्रदान गर्नुभएको थियो। वक्ताहरूले पछिल्लो समय बालबालिकामा मायोपिया (नजिकको दृष्टिदोष) तीव्र रूपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको समयमै पहिचान र उपचार अत्यन्तै आवश्यक रहेको उल्लेख गर्नुभयो।

अत्यधिक मोबाइल, ट्याब्लेट तथा कम्प्युटरको प्रयोग, लामो समयसम्म नजिकैबाट लगातार अध्ययन गर्ने बानी र बाहिरी खेलकुद (आउटडोर एक्टिभिटिज) मा कमी हुनु नै बालबालिकामा मायोपिया बढ्ने मुख्य कारण र गति छिटो हुनु रहेको चिकित्सकहरूले जानकारी दिए। समयमै आँखा परीक्षण गराउने, उचित पावरको चस्मा प्रयोग गर्ने तथा नियमित फलोअपमा बस्नाले दृष्टि सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने सल्लाह चिकित्सकद्वयले दिएका छन्।

कार्यक्रममा स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक तथा मायोपिया विशेषज्ञ वसन्त पौडेलले यस किसिमको सचेतनामूलक अभियानले बालबालिकाको दृष्टि संरक्षणमा समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, आयोजक संस्थाको तर्फबाट दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि आँखा स्वास्थ्य र जनचेतनासँग सम्बन्धित यस्ता प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सम्बन्धित समाचार