९ जेठ,काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको ओरेन्ज काउन्टीस्थित गार्डेन ग्रोभ क्षेत्रमा एक रासायनिक ट्याङ्कीमा चुहावट भएपछि करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ।
अधिकारीहरूका अनुसार प्लास्टिक उत्पादनमा प्रयोग हुने अत्यन्तै ज्वलनशील र अस्थिर रसायन मिथाइल मेथाक्रिलेट करिब २६ हजार लिटर क्षमताको ट्याङ्कीबाट चुहिन थालेपछि आपतकालीन अवस्था सिर्जना भएको हो। आगो नियन्त्रणकर्मीहरूले अवस्था गम्भीर बनेको भन्दै तत्काल सतर्कता अपनाएका थिए।
चुहावट रोक्न नसकिए रसायन पार्किङ क्षेत्रमा फैलिन सक्ने र वरपरका इन्धन तथा रसायन ट्याङ्कीहरूमा समेत जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
घटनापछि स्थानीय प्रशासनले आपतकालीन निकासी आदेश जारी गरेको छ। गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राका अनुसार हजारौं बासिन्दाले घर छोड्न अस्वीकार गरे पनि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानमा सारिएका छन्।
स्थानीय टेलिभिजन फुटेजमा ट्याङ्कीलाई चिसो पार्न पानी छर्किएको देखाइएको छ। अधिकारीहरूले तापक्रम क्रमशः घट्दै गएको र अवस्था नियन्त्रणमा ल्याउने प्रयास सफल हुँदै गएको बताएका छन्। हाल ट्याङ्कीको तापक्रम करिब ६१ डिग्रीमा झरेको र ५० डिग्रीमा पुगेपछि अवस्था स्थिर हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको जानकारी दिँदै कुनै असामान्य गन्ध वा विस्फोटको संकेत देखिएमा तुरुन्त अधिकारीलाई खबर गर्न आग्रह गरेकी छन्।
हालसम्म कुनै घाइते वा स्वास्थ्य समस्या रिपोर्ट नभएको जनाइएको छ। चुहावटको कारण भने अझै पत्ता लाग्न सकेको छैन। अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार मिथाइल मेथाक्रिलेटले छाला, आँखा र श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्न सक्छ।


















