Logo

९ जेठ,काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री मार्को रुबियो बीच भएको भेटवार्ताबारे भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सार्वजनिक रूपमा जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले विदेशमन्त्री रुबियोसँगै प्रधानमन्त्री मोदीसँगको भेटमा सहभागी हुन पाउनु राम्रो अनुभव भएको उल्लेख गर्दै सुरक्षा, व्यापार र महत्त्वपूर्ण प्रविधि क्षेत्रहरूमा भारत–अमेरिका सहकार्य अझ मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन्। उनका अनुसार यी क्षेत्रहरूले दुवै देशलाई थप सशक्त बनाउनेछन्।

गोरले अर्को पोस्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणको आधिकारिक निमन्त्रणा दिइएको पनि जानकारी दिएका छन्।

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विदेशमन्त्री रुबियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारत–अमेरिका व्यापक रणनीतिक साझेदारी, विश्व शान्ति र सुरक्षासम्बन्धी विषयमा छलफल भएको बताएका छन्। उनले दुवै देशले विश्वव्यापी हितका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै