Logo

१० जेठ,वीरगंज। पोखरिया नगरपालिका वडा नं. ९ बैरिया टोलमा चेकजाँच गरिएका मोतियाबिन्दुका बिरामीहरूको आज सफलतापूर्वक निःशुल्क आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीले वीरगंज सामुदायिक अस्पतालमा बिरामीहरूको सफल अपरेशन गरेको हो।

यस मानवीय तथा सामाजिक अभियानमा लायन्स क्लब इन्टरनेशनल अन्तर्गत सक्रिय लायन्स क्लब अफ पोखरिया का अध्यक्ष नेजामुद्दीन शमानी तथा उपाध्यक्ष आशा देवी चौहानको विशेष पहल रहेको थियो। साथै लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय, चेयरपर्सन डा. लक्ष्मी थापा, डा. महेश सिंह धामी तथा लायन्स क्लब अफ वीरगंज प्रभु को महत्वपूर्ण सहयोग रहेको जनाइएको छ।

“मानव सेवा नै साँचो धर्म हो” भन्ने सन्देशसहित सञ्चालन गरिएको यस अभियानले मधेश आन्दोलनका शहीद बिरबल मुखियाकी धर्मपत्नी शरदा देवीसहित मोतियाबिन्दुबाट पीडित धेरै बिरामीहरूको जीवनमा नयाँ आशा र उज्यालो ल्याएको छ।

निःस्वार्थ सेवाभाव, सहयोग र समर्पणका कारण धेरै बिरामीहरूले फेरि स्पष्ट रूपमा संसार हेर्ने अवसर प्राप्त गरेका छन्। स्थानीयवासीहरूले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी अभियानले समाजमा मानवता, सहकार्य र सेवाको भावना अझ मजबुत बनाएको बताएका छन्।

अभियानका संयोजक तथा लायन्स क्लब अफ पोखरिया का अध्यक्ष नेजामुद्दीन शमानीले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन्।


सम्बन्धित समाचार