Logo

११ जेठ, महोत्तरी । गत भदौको ‘जेनजी आन्दोलन’ को मौका छोपी महोत्तरीको जलेश्वर कारागार तोडेर सामूहिक रूपमा भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् । आन्दोलनको भिडभाड र सुरक्षा कमजोरीको फाइदा उठाउँदै कारागार ब्रेक गरी भागेका कुल ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना मात्रै कारागार प्रशासनको सम्पर्कमा आएका छन् । ९ महिना बितिसक्दा पनि आधा जसो कैदीबन्दी अझै कानुनको घेराभन्दा बाहिर रहनुले सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतामाथि गम्भीर प्रश्न उब्जाइदिएको छ ।

जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीका अनुसार गत भदौ २४ गते सदरमुकाम जलेश्वर नगरपालिका-२ स्थित कारागारको मूल ढोका तथा पर्खाल तोडेर कैदीबन्दीहरू सामूहिक रूपमा फरार भएका थिए । भाग्नेहरूमा ४० जना भारतीय नागरिक समेत थिए। घटनाको भोलिपल्टै (भदौ २५ गते) कारागार प्रशासनले आममाफी र कानुनी सहुलियतको आशा देखाउँदै सञ्चारमाध्यममार्फत आत्मसमर्पण गर्न आह्वान गरेपछि हालसम्म ३१६ नेपाली र १० भारतीय गरी जम्मा ३२६ जना स्वतःस्फूर्त रूपमा हाजिर हुन आइसकेका छन् ।

फरार सूचीमा रहेका कैदीबन्दीहरू खुला सीमाको फाइदा उठाउँदै भारततर्फ भागिरहेको अवस्थामा १३ जनालाई भारतीय प्रहरीले सीमापारिबाटै नियन्त्रणमा लिएको थियो । दुई देशका सुरक्षा निकायबीचको समन्वयपछि भारतीय प्रहरीले उनीहरूलाई पुनः नेपाल फर्काएर जलेश्वर कारागार प्रशासनलाई बुझाएको थियो ।

कारागार प्रमुख क्षेत्रीले फरार कैदीबन्दीहरू स्वेच्छाले आउने क्रम अझै जारी रहेको बताउँदै ढिलो गरी आउने वा फरार अवस्थामै समातिनेहरूलाई कारागार ऐन, २०७९ तथा प्रचलित कानुन बमोजिम थप सजाय र जरिवाना हुने स्पष्ट पारे । साथै, फरार अपराधीहरूलाई शरण दिने, लुकाउने वा छिपाउने जुनसुकै व्यक्ति वा आफन्तलाई समेत कानुन अनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाँकी फरारहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको र खोजी कार्यलाई ‘हाइ अलर्ट’ मा राखिएको दाबी गरे ।

वि.सं. १९१३ मा जंगबहादुर राणाको पालामा निर्माण भएको देशकै पुरानो र ऐतिहासिक जलेश्वर कारागार यतिबेला आफैँमा एउटा ठूलो समस्या बनेको छ। विडम्बना के छ भने, कारागारको नयाँ भवन निर्माणका लागि जलेश्वर–२ मा करिब ६ बिघा जग्गा उपलब्ध गराइएको वर्षौँ भइसके पनि सरकारी उदासीनताका कारण निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।

जम्मा २०० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले महोत्तरी, धनुषा र अन्य जिल्लाबाट ल्याइएका थुनुवाहरू समेत गरी क्षमताभन्दा दोब्बर (४०० भन्दा बढी) को सङ्ख्यामा खाँदिएर बस्न बाध्य छन्। वर्षायाम सुरु हुन लागेकाले तराईको डुबान र बाढीको जोखिमले कारागार प्रशासन र कैदीबन्दी दुवैलाई उत्तिकै त्रसित बनाएको छ ।

अत्यधिक भिडभाड र जीर्ण संरचनाका कारण कारागारभित्र मानवीय सङ्कट उत्पन्न हुन थालेको छ। कारागार प्रमुख क्षेत्रीले खाना र पानीको व्यवस्थापन सामान्य रहे पनि औषधिको व्यवस्थापनमा ठूलो समस्या रहेको स्वीकार गरे । “बजेट पर्याप्त नहुँदा बिरामी कैदीबन्दीका लागि आवश्यक औषधि समयमा जुटाउन गाह्रो भइरहेको छ,” उनले भने। भिडभाड र ओसिलोपनका कारण कैदीबन्दीमा सरुवा रोग र सङ्क्रमण फैलिने जोखिम निकै उच्च रहेको छ ।

केही दिनअघि मात्रै कारागारबाट सजाय काटेर निस्किएका एक पूर्वकैदीले भित्रको अवस्था निकै कष्टकर रहेको गुनासो गरे। “मनोरञ्जन, खेलकुद वा पुस्तकालय त परको कुरा, दिनभर एउटै साँगुरो ठाउँमा कोचिएर बस्नुपर्दा धेरै कैदीबन्दी मानसिक तनाव र एक्लोपनको सिकार भएका छन्,” उनले भने ।

नागरिक समाजका अगुवा राकेश चौधरीले कारागारलाई केवल ‘यातना गृह वा सजाय दिने ठाउँ’ मात्र नबनाई सीपमूलक र व्यावसायिक तालिम दिने ‘सुधार गृह’ का रूपमा विकास गर्न तत्काल नयाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।


सम्बन्धित समाचार