११ जेठ, काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेको आरोप लागेकी नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङका नाममा अदालतले म्याद जारी गरेको छ ।
ललितपुर जिल्ला अदालतले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
साढे १२ करोड हिनामिनाको आरोप र तीनपुस्ते विवरण
ज्योति गुरुङमाथि मितेरी सहकारीको साढे १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना तथा ठगी गरेको गम्भीर आरोप छ। यस प्रकरणमा उनको मुख्य भूमिका रहेको सहकारीको छानबिनले समेत देखाएको थियो ।
अदालतले जारी गरेको सूचनामा उनको तीनपुस्ते विवरण खुलाइएको छ, जसमा उनको पतिको नाममा कांग्रेस नेता धनराज गुरुङ नै उल्लेख गरिएको छ । नेता गुरुङले आफूहरू सबन्धविच्छेद गरेर छुट्टिइसकेको दाबी गर्दै आए तापनि कानुनी दस्तावेज र म्यादमा भने उनको विवरण समेटिएको छ ।
प्रतिउत्तर पत्रसहित उपस्थित हुन निर्देशन
ललितपुर जिल्ला अदालतका अनुसार बोध विक्रम थापाले ज्योति गुरुङविरुद्ध दायर गरेको लेनदेन मुद्दाको सिलसिलामा यसअघि जारी भएको म्याद तामेल हुन नसकी बदर भएको थियो । सोही कारण अदालतको यही जेठ ५ गतेको आदेशानुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२) बमोजिम यो सार्वजनिक सूचना प्रकाशित गरिएको हो ।
‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुन बमोजिमको वारिस वा प्रतिनिधिमार्फत आफ्नो पक्षको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला।’
म्याद गुजारे कानुन बमोजिम फैसला हुने चेतावनी
अदालतले तोकिएको २१ दिनको अवधिभित्र उपस्थित नभए कानुन अनुसार नै मुद्दाको किनारा लगाइने स्पष्ट पारेको छ ।
यदि यो म्याद गुजारेर बसेमा पछि उनको कुनै पनि दाबी वा उजुरबाजुर नलाग्ने र अदालतले कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने चेतावनी समेत सूचनामार्फत दिइएको छ । यो म्याद जारी भएसँगै लामो समयदेखि फरार रहेकी भनिएकी गुरुङमाथिको कानुनी अनुसन्धान र कारबाही प्रक्रियाले नयाँ मोड लिएको छ ।


















