११ जेठ, । पर्सा प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धान पूरा गरी आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंमाथि गहन अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरिएको हो । प्रसाईंलाई यही जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा मुद्दा चलाउन उपयुक्त हुने रायसहितको प्रतिवेदन बुझाएको छ। विभिन्न युट्युब च्यानलमा दिएका अन्तर्वार्ता तथा वीरगन्ज पुगेर व्यक्त गरेका अभिव्यक्तिहरूलाई प्रहरीले अनुसन्धानको मुख्य प्रमाण बनाएको छ। प्रसाईंले सामाजिक सञ्जाल र युट्युबमार्फत महिलाहरूलाई लाञ्छना लगाउँदै अपशब्द बोलेको तथा राज्यका सुरक्षा निकायहरू सेना र प्रहरीलाई होच्याउने गरी अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्।
अनुसन्धानका क्रममा प्रसाईंले एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क सम्पाङलाई चलाउने ‘एउटै अदृश्य टिम’ सक्रिय रहेको जिकिर गरेका थिए ।
त्यसै गरी, सेना र प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक गरेको एउटा गीतलाई लिएर पनि उनले आपत्तिजनक टिप्पणी गरेको प्रहरीको दाबी छ ।
वीरगन्जको गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँ संरचना भत्काइएका स्थानीय बासिन्दाहरूलाई सम्बोधन गर्न पर्सा पुगेका प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिइसकेको पृष्ठभूमिमा प्रहरीले यो प्रतिवेदन बुझाएको हो ।


















