११ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सर्वोच्च कुर्सीमा को बस्ला भन्ने कौतुहलता अब निर्णयको अन्तिम मोडमा आइपुगेको छ ।
लामो समयदेखि नेतृत्वविहीन बनेको पुँजी बजारको नियामक निकाय सेबोनको अध्यक्ष पदका लागि छनोट सिफारिस समितिले तीन जना अब्बल दाबेदारको नाम अर्थ मन्त्रालयमा बुझाएसँगै रेस निकै रोचक बनेको हो । समितिले सर्टलिस्टमा परेका चारमध्ये एक बलिया प्रतिस्पर्धीलाई बाहिर राख्दै विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा। गोपालप्रसाद भट्टको नाम सिफारिस गरेको छ । यो सिफारिससँगै अबको केही घण्टामै सेबोनले नयाँ सारथि पाउने सम्भावना बढेको छ ।
यसपटकको सिफारिसमा केही अनपेक्षित ‘ट्विस्ट’ समेत देखिएको छ । संक्षिप्त सूचीको पहिलो नम्बरमा रहेका र बोर्डकै पूर्वकार्यकारी निर्देशकका रूपमा बलियो दाबेदार मानिएका डा। नवराज अधिकारी अन्तिम तीनको सूचीबाट बाहिरिएका छन् ।
समितिले अन्तिम दौडका लागि छनोट गरेका तीन नाममध्ये विनयदेव आचार्य बोर्डकै वर्तमान कार्यकारी निर्देशक हुन् भने मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकहरू हुन् । नियामक निकायको अनुभव र वित्तीय क्षेत्रको विज्ञता बोकेका यी तीन नाममध्येबाटै एक जनाले सेबोनको कमान्ड सम्हाल्ने निश्चित भएको छ ।
सबैको नजर अब सिंहदरबारतर्फ सोझिएको छ, जहाँ प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार दिउँसो साढे ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिफारिस समितिबाट आएका यी तीन नामलाई आजैको क्याबिनेट बैठकमा प्रस्तावका रूपमा लैजाने तयारी गरेका छन् । पुँजी बजारका लगानीकर्ता र सरोकारवालाहरूले चासोका साथ हेरेको यो बैठकले सम्भवतः आजै धितोपत्र बोर्डको नयाँ अध्यक्षको घोषणा गर्नेछ ।
धितोपत्रसम्बन्धी ऐन २०६३ को कानुनी जगमा उभिएर गत वैशाख १५ गते सुरु भएको यो छनोट प्रक्रियामा देशका ४७ जना उच्च व्यावसायिक व्यक्तित्वहरूले उत्साहजनक रूपमा आवेदन दिएका थिए । सोही भीडबाट खारिएर र विभिन्न चरणको प्रस्तुतीकरण तथा अन्तर्वार्ता पार गर्दै अन्ततः यी तीन नाम मन्त्रिपरिषद्को टेबुलमा पुगेका हुन् ।
विगत केही समयदेखि नीतिगत निर्णयहरू सुस्ताइरहेको धितोपत्र बोर्डले आजै नयाँ नेतृत्व पाउँछ या सरकारले केही समय थप पर्खने रणनीति लिन्छ, त्यसको छिनोफानो भने मन्त्रिपरिषद् बैठकको निर्णयले नै गर्नेछ ।


















