Logo

११ जेठ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका मा युवाहरूले नगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। सूचना माग्दा उपलब्ध नगराउने, काम गरे वापतको पारिश्रमिक नदिने तथा विभिन्न किसिमका अनियमितता भएको आरोप लगाउँदै उनीहरूले नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले नगरपालिकाले पारदर्शी ढंगले काम नगरेको आरोप लगाएका छन्। रोजगार तथा विकाससम्बन्धी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई समयमै तलब तथा भुक्तानी नदिएको उनीहरूको गुनासो छ।

एक पूर्व कर्मचारीले नगरपालिकाले ठगी शैलीमा कर्मचारी भर्ना गरेको आरोप लगाउँदै प्रत्येक व्यक्तिबाट रकम असुलेर पनि १२ महिनासम्मको तलब नदिएको दाबी गरेका छन्। उनले विभिन्न आश्वासन दिएर कर्मचारीहरूलाई आर्थिक तथा मानसिक रूपमा विचलित बनाइएको आरोप समेत लगाए।

प्रदर्शनकारीहरूले सार्वजनिक सूचना सहज रूपमा उपलब्ध गराउन, बेरुजु तथा खर्च विवरण सार्वजनिक गर्न र युवामैत्री नीति लागू गर्न माग गरेका छन्। नगरप्रमुख र प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

केही युवाहरूले नगरपालिकामा योजनाको बजेट वितरणदेखि कर्मचारी व्यवस्थापनसम्म अनियमितता भएको आरोप समेत लगाएका छन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यता नगरपालिकाका पदाधिकारीहरूले भने उठाइएका विषयबारे छलफल भइरहेको र आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।


सम्बन्धित समाचार