Logo

११ जेठ, काठमाडौं । युरोपेली युनियन (ईयू) का २२ वटा शक्तिशाली मुलुकका आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुखहरू यतिबेला काठमाडौंको कूटनीतिक माहोल तताउँदै विशेष भ्रमणमा आइपुगेका छन् ।

नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोको कमान्डमा सोमबार काठमाडौं ओर्लिएको यो जम्बो टोलीले आउनासाथै राजनीतिक र कूटनीतिक वृत्तमा आफ्नो सक्रियता तीव्र पारिसकेको छ । अस्ट्रिया, फ्रान्स, जर्मनी, स्पेन र स्वीडेनजस्ता युरोपका प्रमुख २२ राष्ट्रका प्रतिनिधिहरू सम्मिलित यो मिसनलाई वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने एउटा ठूलो कूटनीतिक कसरतका रूपमा हेरिएको छ ।

राजधानी ओर्लेको पहिलो दिनमै ईयूको यो उच्चस्तरीय टोलीले सिंहदरबारमा आफ्नो राजनीतिक भेटघाटको शृङ्खला सुरु गरिसकेको छ। टोलीले सोमबार नै परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दै द्विपक्षीय हित र सहकार्यका एजेन्डाहरूमाथि घनीभूत छलफल गर्‍यो ।

काठमाडौंस्थित ईयू नियोगले जारी गरेको विज्ञप्ति अनुसार यो विशेष भ्रमणको मुख्य उद्देश्य नै बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिँदै नेपाल र युरोपबीचको वर्षौँ पुरानो र मजबुत सम्बन्धलाई थप ऊर्जा प्रदान गर्नु हो ।

यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक भेटघाट भने मंगलबार हुँदैछ । ईयूका २२ वटै देशका दूतहरूले मंगलबार बिहान १०स्३० बजे सिंहदरबार पुगेर प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

यो सामूहिक भेटमा नेपालको विकासका प्राथमिकता, जलवायु परिवर्तनका चुनौती, द्विपक्षीय व्यापार तथा लगानीका नयाँ सम्भावना र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्नेबारे गहन संवाद हुने बताइएको छ ।

नेपालका लागि ईयूकी राजदूत लोरेन्जोले यो मिसनले नेपालप्रतिको बलियो प्रतिबद्धता दर्शाउने उल्लेख गर्दै समृद्ध र समावेशी भविष्यका लागि नेपालको नयाँ सरकारसँग काँधमा काँध मिलाएर काम गर्न आफूहरू उत्सुक रहेको बताएकी छन् । राजनीतिक भेटघाटका अलावा यो टोलीले नेपालका युवा नेता, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार