११ जेठ, काठमाडौं । आफ्ना आक्रामक र विवादास्पद अभिव्यक्तिका कारण निरन्तर चर्चामा रहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कानुनी फन्दा कसिँदै गएको छ ।
सरकारी वकिल कार्यालयले सोमबार पर्सा जिल्ला अदालतमा प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनि) कारोबार ऐन, २०६३ र राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउँदै कडा सजायको मागदाबीसहित अभियोग पत्र दायर गरेको छ । जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ परेका प्रसाईंलाई सोमबार अदालत उपस्थित गराउँदा परिसर बाहिर उनका समर्थकहरूले उग्र नाराबाजी समेत गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र स्थानीय कूटनीतिक संयन्त्रले प्रसाईंले विभिन्न युट्युब च्यानल तथा वीरगन्ज पुगेर दिएका उत्तेजक अन्तर्वार्ताहरूलाई मुद्दाको मुख्य आधार बनाएको छ ।
अनुसन्धान अधिकृतहरूका अनुसार प्रसाईंले युट्युबमा महिलाहरूलाई लक्षित गरी गम्भीर लाञ्छना लगाउँदै अपशब्द बोलेको तथा राज्यको सुरक्षा अंगका रूपमा रहेका नेपाली सेना र नेपाल प्रहरीको साख गिराउने गरी अश्लील र अमर्यादित टिप्पणी गरेको पाइएको छ । यति मात्र नभई, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको एउटा गीतलाई लिएर समेत प्रसाईंले सार्वजनिक मञ्चबाटै अश्लील आक्षेप लगाएको दाबी अभियोग पत्रमा गरिएको छ ।
राजनीतिक वृत्त र देशका शीर्ष व्यक्तित्वहरूलाई लिएर प्रसाईंले फैलाएका कतिपय अभिव्यक्तिलाई समेत राज्य विरुद्धको कसुरको पाटो मानिएको छ । एउटा अन्तर्वार्तामा उनले प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई नेपथ्यबाट चलाउने ‘एउटै अदृश्य टिम’ सक्रिय रहेको दाबी गरेका थिए ।
साथै, हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेन्डा स्वीकार गरे प्रधानमन्त्री बालेन्द्र शाहको फोटो आफ्नो घरमा सजाउने भन्दै उनले दिएको राजनीतिक अभिव्यक्ति र सुरक्षा निकायमाथि गरेको प्रहारले मुलुकको शान्ति सुरक्षा र सार्वभौमिकतामाथि नै आँच पुर्याएको सरकारी वकिलको ठहर छ । यस मुद्दाको फैसलाले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल माध्यमको दुरुपयोगबीचको सीमारेखालाई थप प्रष्ट पार्ने देखिएको छ ।


















