१२ जेठ, काठमाडौँ । अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौताका लागि कूटनीतिक कसरत र वार्ता निकै नजिक पुगेका बेला अमेरिकी सेनाले दक्षिणी इरानको रणनीतिक जलक्षेत्रमा नयाँ सैन्य आक्रमण गरेको छ ।
जारी युद्धविरामको संवेदनशीलतालाई बेवास्ता गर्दै अमेरिकी वायुसेनाले इरानी मिसाइल भण्डारण गरिएका स्थान र समुद्री सुरुङ (माइन) ओछ्याउने तयारीमा रहेका इरानी बोटहरूलाई लक्षित गरी शक्तिशाली हमला गरेको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले एक विशेष विज्ञप्ति जारी गर्दै यो आक्रमण विशुद्ध ‘आत्मरक्षा’ का लागि गरिएको दाबी गरेका छन् । उनले युद्धविरामको अवधिमा अमेरिकी सेनाले हदैसम्मको संयम अपनाएको भए पनि आफ्ना फौज र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि प्रतिवाद गर्नुपरेको जिकिर गरे ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यो सैन्य कारबाही इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासनजिकै गरिएको हो । विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिने ‘होर्मुज जलडमरूमध्य’ (स्ट्रेट अफ होर्मुज) क्षेत्रमा अवस्थित बन्दर अब्बास सहर इरानी नौसेनाको मुख्य हेडक्वाटर समेत हो ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास क्षेत्रमा शृङ्खलाबद्ध ठूला विस्फोटको आवाज सुनिएको र त्यसबारे स्थानीय सैन्य अधिकारीहरूले स्थलगत अनुसन्धान सुरु गरिसकेको बताएका छन् । यद्यपि, यो समाचार तयार पार्दासम्म इरान सरकारले अमेरिकी सैन्य आक्रमण र त्यसबाट भएको क्षतिबारे हालसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यो आक्रमण यस्तो समयमा भएको छ, जुन बेला दुवै देश ६० दिने युद्धविराम थप गर्ने, होर्मुज जलडमरूमध्यलाई पूर्ण रूपमा खुला गर्ने र इरानको आणविक कार्यक्रमबारे ठोस वार्ता अघि बढाउने सम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) को अन्तिम मस्यौदामा छलफल गरिरहेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा दुवै पक्ष ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको सङ्केत गरेका थिए । तर, लगत्तै उहाँले आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशनसमेत दिएको बुझिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही गम्भीर प्रगति भएको र धेरैजसो विवादित विषयहरू निष्कर्षनजिक पुगेको स्वीकार गरे पनि द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्ने सम्झौता ‘तत्कालै भइहाल्ने’ सम्भावनालाई नकारेका छन् । “हामी निष्कर्षनजिक छौँ भन्नुको अर्थ तत्कालै सम्झौता हुँदैछ भन्ने दाबी कसैले गर्न सक्दैन,” बकाईले भने ।
इरानमा आक्रमण भइरहँदा भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने यो सैन्य मुठभेडका बाबजुद शान्ति सम्झौताको सम्भावना अझै जीवितै रहेको दाबी गरेका छन् । नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले भने, “हामी वार्तामा थप प्रगति गर्न सकिन्छ कि भनेर हेरिरहेका छौँ। प्रारम्भिक दस्तावेजको भाषा र प्राविधिक बुँदाबारे गहन छलफल भइरहेकाले अन्तिम सहमति हुन अझै केही दिन लाग्न सक्छ।”
रुबियोले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यशैली उद्धृत गर्दै भने, “राष्ट्रपति ट्रम्प यो क्षेत्रमा दीर्घकालीन शान्ति चाहनुहुन्छ । उनले या त अमेरिकाको हित अनुकूलको ऐतिहासिक रूपमा राम्रो सम्झौता गर्नुहुन्छ, या सम्झौता नै गर्नुहुन्न ।” एकातर्फ कूटनीतिक टेबलमा वार्ता निर्णायक मोडमा पुग्नु र अर्कातर्फ रणनीतिक जलक्षेत्रमा बमबारी हुनुले अमेरिका-इरानबीचको सम्भावित शान्ति प्रक्रिया थप जटिल र संशयपूर्ण बनेको अन्तर्राष्ट्रिय भू-राजनीतिक विश्लेषकहरू बताउँछन् ।


















