Logo

१२ जेठ,वीरगञ्ज ।  टेक बहादुर शाक्य ले इलाका प्रशासन कार्यालय सुपौली मा देखिएको अव्यवस्था तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै सोमबार आकस्मिक अनुगमन गरेका छन्।

पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाक्यले आफ्नो निर्वाचन क्षेत्र जगरनाथपुरदेखि ठोरीसम्मका नागरिकबाट कार्यालयमा लामो समय लाइन बस्नुपर्ने, कर्मचारी समयमै उपस्थित नहुने तथा सेवा प्रवाह प्रभावकारी नभएको गुनासो लगातार आएपछि अनुगमन गरेको बताएका छन्।

अनुगमनका क्रममा सेवाग्राहीहरूले कार्यालयको व्यवस्थापन कमजोर रहेको, चर्को घाममा घण्टौँ लाइनमा बस्न बाध्य हुनुपरेको तथा कर्मचारी अभावका कारण काममा ढिलाइ भइरहेको गुनासो गरेका थिए।

सेवाग्राहीहरूले नागरिकता, सिफारिसलगायतका सेवा लिन घण्टौँ कुर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनीहरूले कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा प्रभावित भइरहेको उल्लेख गरेका छन्।

त्यसपछि सांसद शाक्यले कार्यालय प्रमुखसँग छलफल गर्दै कर्मचारी अभाव तथा कार्यशैली सुधार गर्न आवश्यक कदम चाल्न आग्रह गरे। उनले सेवाग्राही नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न प्रशासनलाई निर्देशन समेत दिएका छन्।

सांसद शाक्यले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन प्रशासनिक सुधार आवश्यक रहेको उल्लेख गर्दै जनगुनासो सम्बोधनमा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै