Logo

१२ जेठ, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले गरिरहेको विरोध प्रदर्शनलाई सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तमासाको संज्ञा दिएपछि संसदभित्र तीव्र तनाव सिर्जना भएको छ ।

विपक्षीको चर्को नाराबाजी र अवरोधका बीच पनि सभामुखले सदनको कारबाही अगाडि बढाउने क्रममा कार्यसूची अनुसार पर्यटन विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिन रास्वपा सांसद खरेल रोस्टममा पुग्नुभएको थियो । तर, उहाँले विधेयकमाथि केन्द्रित हुनुको साटो सुरुमै विरोधमा उत्रिएका विपक्षी दलहरूमाथि कडा राजनीतिक प्रहार र आरोप लगाउन थालेपछि वेल घेराउ गरिरहेका सांसदहरू झन् आक्रोशित बनेका हुन् ।

रोस्टमबाट विपक्षी दलहरूतर्फ चोर औँला ठड्याउँदै सांसद खरेलले विगत वर्षहरूदेखि संसद्‍मा भइरहेको यस्तै गतिरोधका कारण आवश्यक कानुनहरू बन्न नसकेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले सन् २०१५ (२०७२ साल) मा संविधान बनेपछि जति ऐनहरू निर्माण हुनुपर्ने थियो, ती सबै ओझेलमा पर्नुको मुख्य कारण यही ‘संसदीय तमासा’ रहेको दाबी गर्नुभयो ।

सरकारले आठ वटा अध्यादेश ल्याउनुपर्ने बाध्यताको कारण पनि आज संसद्को यो दृश्यले छर्लङ्ग पारेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री उपस्थित हुने वा नहुने प्राविधिक विषयलाई लिएर जनताका लागि कानुन बनाउने सार्वभौम प्रक्रियामा अवरोध गर्न नमिल्ने तर्क गर्नुभयो । जनताका कानुन बनाउने सन्दर्भमा विपक्षी दलहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।सांसद खरेलको यो उत्तेजित र आक्रामक अभिव्यक्तिपछि संसद्को वातावरण नियन्त्रण बाहिर पुगेको थियो ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ खरेलको भनाइप्रति कडा आपत्ति जनाउँदै रोस्टमतर्फ नै झप्टिन अगाडि बढेपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले उहाँलाई थुम्थुम्याएर पछाडि हटाउनुभएको थियो । यसअघि पनि सभामुखले संसद्‍मा अमर्यादित शब्द प्रयोग नगर्न पटकपटक रुलिङ गरिसकेका छन् भने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र एमाले संसदीय दलका नेता रामबहादुर थापाका कतिपय भनाइहरू संसदीय रेकर्डबाट हटाइएका उदाहरण छन् ।

सांसद खरेलको टिप्पणीपछि विपक्षी सांसदहरू थप उग्र रूपमा नाराबाजीमा उत्रिएपछि सभामुख डोलप्रसाद अर्यालले परिस्थितिलाई शान्त पार्न प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै