१२ जेठ, काठमाडौं । धितोपत्र बजारमा उतारचढावका बीच साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टॉक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ ।
विगत केही समयदेखि सकारात्मक दिशातिर उन्मुख बजारमा आज नाफा सुरक्षित गर्ने लगानीकर्ता हाबी हुँदा नेप्से परिसूचक ९ दशमलव २४ अङ्कले घटेर २७७७ दशमलव १० विन्दुमा ओर्लिएको हो । परिसूचकसँगै बजारमा खरिदबिक्री रकममा पनि अघिल्लो दिनको तुलनामा संकुचन आएको छ । गत सोमबार कुल ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज कारोबार रकम घटेर ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
आजको कारोबारमा अधिकांश जलविद्युत र अन्य समूहका कम्पनीहरूमा शिथिलता देखिँदा समग्र बजारमा गिरावटको दबाब परेको हो। कुल कारोबार भएका कम्पनीहरूमध्ये ६९ वटा कम्पनीको सेयर मूल्यमा सामान्य सुधार आएको छ भने १९० वटा कम्पनीका लगानीकर्ताले मूल्य घट्दा नोक्सानी ब्यहोरेका छन् । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ ।
समग्र बजार ओरालो लागे पनि कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा भने उछाल आएको छ, जसको मूल्य सबैभन्दा धेरै ९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । यता सुपर खुदी हाइड्रोपावरका सेयरधनीले भने आज सबैभन्दा धेरै ३ दशमलव ६० प्रतिशतको मूल्य गिरावट खेप्नुपरेको छ ।
आजको बजारमा कारोबार रकमका आधारमा जलविद्युत कम्पनीहरूको बर्चस्व कायमै रह्यो । कुल ४६ करोड ७२ लाख रुपैयाँको सेयर किनबेचका साथ आँखु खोला जलविद्युत कम्पनी कारोबारको अग्रस्थानमा रहन सफल भयो ।
त्यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर कम्पनीको १६ करोड ५९ लाख रुपैयाँ र साहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक तथा साधारण सेयर कारोबार भएको छ । साना लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा तथा ठुला संस्थागत लगानीकर्ताहरूले पर्फमेन्स रिपोर्ट पर्खिँदा बजारमा केही सुस्ती देखिएको विश्लेषण गरिएको छ ।


















