काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको परराष्ट्र नीति पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको जगमा उभिएको स्पष्ट पार्नुभएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रसहित विभिन्न २८ देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँगको संयुक्त भेटघाटका क्रममा उहाँले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्नुभयो ।
प्रधानमन्त्री शाहले नेपालको विकास यात्रामा अन्तर्राष्ट्रिय जगतले पुर्याउँदै आएको निरन्तर सहयोग र सद्भावप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा यो सहकार्य अझ मजबुत र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेष सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सरकार मुलुकमा सुशासन सुनिश्चित गर्दै समावेशी आर्थिक समृद्धि हासिल गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । नेपाललाई विश्व बजारसँग जोडेर आर्थिक लाभ लिनका लागि कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल र झन्झटमुक्त बनाइने उहाँको भनाइ थियो ।
वैदेशिक लगानी आकर्षित गर्न, देशभित्र नवप्रवर्तन (इनोभेसन) लाई प्रोत्साहन गर्न तथा दिगो विकासका लक्ष्यहरू समयमै पूरा गर्न सरकार दृढताका साथ लागिपरेको चर्चा गर्दै उहाँले विशेषगरी व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तनको सामना र पर्यटन जस्ता रणनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारीलाई अझ व्यापक र गहिरो बनाउन नेपाल इच्छुक रहेको उल्लेख गर्नुभयो ।
उच्चस्तरीय यस कूटनीतिक भेटघाटमा युरोपेली देशहरूका साथै संयुक्त अरब इमिरेट्स (यूएई), अष्ट्रेलिया, रुस, थाइल्याण्ड, मलेसिया र ब्राजिल लगायतका २८ मुलुकका आवासीय तथा गैरआवासीय राजदूतहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा सहभागी राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै आफ्ना राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूका तर्फबाट पठाइएका शुभकामना सन्देशहरू हस्तान्तरण गरेका थिए । उनीहरूले नेपालसँग आपसी हितका नयाँ क्षेत्रहरूमा सहकार्य गर्न आफूहरू उत्सुक रहेको बताउँदै वर्तमान सरकारको विकास र सुशासनको एजेन्डालाई पूर्ण सहयोग र समर्थन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।


















