Logo

१२ जेठ, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारले अघि सारेका सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका प्राथमिकताहरूमा पूर्ण सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आफ्नो राजनीतिक भेटघाटका क्रममा प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गरेको थियो । नेपाल बसाइ र राजनीतिक संवादको समापन गर्दै मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टोलीले नेपालको विकास प्रयासमा कसरी थप रणनीतिक सहयोग पुर्‍याउन सकिन्छ भन्ने विषयमा फलदायी छलफल भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रतिनिधिमण्डलकी प्रमुख भेरोनिक लोरेन्जेले नेपाल र युरोपबीचको जनस्तरको सम्बन्ध (पिपुल–टु–पिपुल रिलेशन) पछिल्ला वर्षहरूमा अभूतपूर्व रूपमा सुदृढ हुँदै गएको बताउनुभयो । विशेष गरी नेपाली विद्यार्थी र कामदारहरूको युरोपतर्फको आकर्षण तीव्र बनेको उल्लेख गर्दै उहाँले यस गतिशीलताले भविष्यमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरूले युरोपेली मुलुकहरूलाई प्रमुख रोजाइमा पार्न थालेको भन्दै उहाँले ुइरास्मसु छात्रवृत्ति कार्यक्रम नेपाली जेहेन्दार विद्यार्थीका लागि उत्कृष्ट अवसर साबित भएको दाबी गर्नुभयो । अचेल छात्रवृत्तिबाहेक आफ्नै स्रोतसाधनमा समेत युरोपका विश्वविद्यालयहरूमा पढ्न जाने नेपालीहरूको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

युरोपेली टोलीले नेपाल सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटन रणनीतिको खुलेर प्रशंसा गर्दै यसले नेपालको पर्यटन बजारमा नयाँ ऊर्जा र गतिशीलता सञ्चार गरेको ठम्याइ प्रस्तुत गरेको छ । यो रणनीति सार्वजनिक भएयता नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रमा क्रियाशील अन्य सरोकारवाला निकायहरू पर्यटन प्रवर्द्धनमा थप आक्रामक र सक्रिय रूपमा लागेको प्रतिनिधिमण्डलले औँल्याएको छ ।

युरोपेली राष्ट्रहरूसँग रहेको पर्यटन व्यवस्थापनको लामो अनुभव, प्रविधि र विज्ञता नेपालसँग साझा गर्न आफूहरू उत्सुक रहेको भन्दै टोलीले आगामी दिनमा शिक्षा, पर्यटन, दिगो आर्थिक विकास तथा जनस्तरको सम्बन्ध विस्तारमा केन्द्रित रहेर नेपालसँगको साझेदारीलाई अझ उचाइमा पुर्‍याइने दृढता व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै