Logo

१२ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच जारी घम्साघम्सीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिपक्षी दलहरूको विरोध प्रदर्शनलाई लिएर गरेको टिप्पणीमाथि संसद्‍मा नियमापत्ति भएको छ ।

पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद खरेलले रोस्टमबाटै विपक्षीको अवरोधलाई ुतमासाु को संज्ञा दिएपछि बैठकमा नयाँ तरङ्ग पैदा भएको हो । खरेलको उक्त अमर्यादित र उत्तेजक शब्दप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले तत्कालै उठेर नियमापत्ति जनाउँदै संसद्को गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा विशेष समय लिँदै नेकपाका सांसद मल्लले रास्वपा सांसद खरेलले प्रतिपक्षको लोकतान्त्रिक विरोधलाई ुतमासा देखाएकोु भनी जुन शब्द प्रयोग गर्नुभएको छ, त्यो सर्वथा अनुचित, अपमानजनक र असंसदीय भएको जिकिर गर्नुभयो ।

सार्वभौम संसद्को गरिमा र संसदीय मर्यादा विपरीतका यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरू संसद्को इतिहासमा अभिलेख रहन नहुने तर्क गर्दै उहाँले उक्त विवादित शब्दलाई तत्काल संसदीय रेकर्डबाट हटाउन (एक्सपन्ज गर्न) सभामुखसँग जोडदार माग गर्नुभयो। मल्लको नियमापत्तिपछि हलमा विपक्षी बेन्चका अन्य सांसदहरूले पनि टेबल ठटाएर समर्थन जनाएका थिए।

यसअघि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले सदनमा नाराबाजी र अवरोध जारी राखे तापनि सभामुख डोलप्रसाद अर्यालले त्यसलाई पन्छाएर कार्यसूची अगाडि बढाउनुभएको थियो । विपक्षीको चर्को विरोधका बीच सभामुखले ‘पर्यटन विधेयक २०८२ माथि विचार गरियोस, भन्ने प्रस्तावलाई छलफलमा ल्याएपछि सोही विधेयकमा केन्द्रित भएर बोल्न रोस्टम पुग्नुभएका खरेलले प्रतिपक्षमाथि आक्रोश पोख्नुभएको थियो ।

सांसद खरेलको टिप्पणी र त्यसपछि नेकपाद्वारा गरिएको नियमापत्तिका कारण संसदभित्रको राजनीतिक वातावरण थप गर्माएको छ भने बैठक केही बेरका लागि निकै तनावपूर्ण बन्न पुग्यो ।


सम्बन्धित समाचार
भर्खरै