Logo

१२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कीर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

अदालतका तहसिलदार देवराज भट्टराई र श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मेयर सिंहविरुद्ध अदालतमा दर्ता भएका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा जेठ ८ गते नै अनुसूची २२ अनुसार पक्राउ पुर्जी जारी गर्ने अनुमति दिइएको हो । स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले सो आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

के हो नागरिकता कीर्ते घटना ?

मेयर सिंहमाथि नक्कली बुबा बनेर झुटो विवरणका आधारमा एक किशोरीलाई नेपाली नागरिकता दिलाएको गम्भीर आरोप छ । वि.सं. २०७५ साउन १३ गते वीरगञ्ज महानगरपालिका वडा नं. ३ बस्ने रुविना श्रेष्ठले लिएको नागरिकतामा बुबाको नाम ‘राजेशमान सिंह’ उल्लेख छ । उक्त नागरिकताको प्रतिलिपि २०७६ फागुन ८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो ।

नागरिकतामा आमाको नाम खुलाइएको छैन भने जन्ममिति २०५९ असार ३० गते राखिएको छ । स्रोतका अनुसार मेयर सिंहको आधिकारिक परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एक छोरा अनिशमान सिंह मात्र छन् । राजनीतिक फाइदाका लागि अरूको सन्तानलाई आफ्नो छोरी दाबी गर्दै झुटो विवरण पेस गरेर नागरिकता दिलाएको आरोप सिंहमाथि लाग्दै आएको छ । ती किशोरी हाल राहदानी (पासपोर्ट) बनाएर उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगिसकेकी छन् ।

उक्त समयमा रुविनालाई नागरिकता दिलाउन तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले निमित्त वडाध्यक्षको हैसियतमा सिफारिस गरेका थिए । तत्कालीन वडाध्यक्ष बैजुलाल स्वर्णकारले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको र वडामा त्यस्तो कुनै विवरण नरहेको दाबी गर्दै आएका छन् ।

कारबाही छल्न कानुनी दाउपेच र ‘ट्विस्ट’

विभिन्न निकायमा उजुरी परेपछि कारबाहीबाट जोगिन मेयर सिंहले कानुनी दाउपेच र नयाँ रणनीति अपनाएको खुलेको छ । छानबिन टोलीसमक्ष बयान दिने क्रममा सिंहले सुरुमा आफ्नो दोस्रो विवाह रहेको स्वीकार गरेका थिए । तर, बयान दिएको २४ घण्टा नबित्दै घटनामा नयाँ ‘ट्विस्ट’ आयो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका निवासी उनकी भनिएकी दोस्रो श्रीमती रीता भट्टराई सिंहले जिल्ला अदालत पर्सामा अंशसहित सम्बन्ध विच्छेदको फिराद पत्र दायर गरिन् । उक्त फिराद पत्रमा आफूले विवाह दर्ताको प्रमाणपत्र नलिएको रीताले उल्लेख गरेकी छन् ।

कानुनविद्हरूका अनुसार विवाह दर्ता नभएकै कारण कानुनी कारबाहीमा परिने डरले, सजायबाट बच्न र अदालतमा नयाँ प्रमाण खडा गर्नका लागि योजनाबद्ध रूपमा सो फिराद पत्र दायर गराइएको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले यस प्रकरणमा थप अनुसन्धान अघि बढाएको छ ।


सम्बन्धित समाचार