Logo

१३ जेठ, काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको वित्तीय स्वास्थ्य अझै पनि पूर्ण रूपमा सुध्रिन सकेको छैन ।

संघीय संसद्‌मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म अस्तित्वमा रहेका कुल ४५ वटा सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफा कमाउन सफल भएका छन् ।

बाँकी १६ वटा संस्थानहरू लगातार नोक्सानीमा चलिरहेका छन् भने २ वटा संस्थानहरूको व्यावसायिक कारोबार पूर्ण रूपमा बन्द अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा कमाउने संस्थानको संख्यामा ह्रास आएको छ, जहाँ गत वर्ष २८ वटा नाफामा र १५ वटा नोक्सानीमा रहेका थिए ।

यस अवधिमा सार्वजनिक संस्थानहरूमा सरकारको वित्तीय दायित्व र लगानीको ग्राफ भने निकै माथि पुगेको छ । सर्वेक्षण प्रतिवेदन अनुसार २०८२ साल असार मसान्तसम्ममा यी सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल सेयर र ऋण लगानी बढेर ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यस कुल लगानीमध्ये सरकारको सेयर पूँजी लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ रहेको छ भने ऋण लगानीको हिस्सा ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अर्बौँ रुपैयाँ सरकारी लगानी भए तापनि ठूलो संख्याका संस्थानहरू नोक्सानीमा रहँदा राज्यकोषमाथि वित्तीय भार थपिएको विश्लेषण गरिएको छ ।


सम्बन्धित समाचार