Logo

१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो नीति निर्माण र अनुसन्धान कार्यलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सातवटा विषयगत उपसमितिहरू गठन गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको बैठकले विभिन्न समसामयिक मुद्दाहरूमा विज्ञता राख्ने नेतृत्वलाई जिम्मेवारी सुम्पँदै उपसमितिहरूलाई पूर्णता दिएको हो ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्व तथा सभापति गगन थापाको उपस्थितिमा बसेको उक्त बैठकले अर्थतन्त्रदेखि जलवायु परिवर्तनसम्मका क्षेत्रलाई समेट्ने गरी उपसमितिहरू तय गरेको छ । जसअनुसार, पार्टीको नीति, दृष्टि र योजना निर्माणको जिम्मेवारी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेललाई दिइएको छ । उनले वित्तीय क्षेत्र, सहकारी र सेयर बजारलगायतका समग्र आर्थिक पाटाहरूको अध्ययन गर्नेछन् ।

त्यस्तै, पछिल्लो पुस्ताका मुद्दालाई प्राथमिकता दिँदै निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय’ उपसमितिको संयोजक बनाइएको छ ।

बैठकले जलवायु परिवर्तन सचेतनाका लागि रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिकका लागि महेन्द्र यादव, बाल अधिकारका लागि उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहका लागि गोपालप्रसाद पोखरेल र गैरसरकारी संस्थासँगको समन्वयका लागि अञ्जु झालाई संयोजकको जिम्मेवारी तोकेको छ ।

प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेस गरेको यस बैठकमा नवनियुक्त संयोजकहरूलाई आगामी चौथो बैठकमा आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिइएको छ । पार्टीको नीतिगत तहलाई विज्ञहरूसँग जोड्ने यो कदमले कांग्रेसको वैचारिक जगलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै