Logo

१५ जेठ,काठमाडौं ।  फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिएको फिलिपिन्सस्थित चिनियाँ दूतावासले जनाएको छ। अन्य ६ जनाको रिहाइ प्रक्रिया जारी रहेको र उनीहरूलाई पनि छिट्टै रिहा गरिने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

ती चिनियाँ नागरिकहरू दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तस्थित एक ‘स्टिल प्लान्ट’ मा कार्यरत रहेका बेला गत मे १५ मा फिलिपिन्सका कानून कार्यान्वयन निकायले हिरासतमा लिएका थिए।

चिनियाँ दूतावासका अनुसार फिलिपिन्सको अदालतले ती नागरिकहरूले आणविक सुरक्षा ऐन, अध्यागमन ऐन तथा श्रम संहिता उल्लङ्घन गरेको पुष्टि गर्न पर्याप्त प्रमाण नभएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

दूतावासले घटनालाई विशेष महत्वका साथ लिएको उल्लेख गर्दै फिलिपिन्सका सम्बन्धित निकायसँग निष्पक्ष, शीघ्र र कानुनी समाधानको माग गरेको जनाएको छ। साथै, चिनियाँ नागरिकहरूको वैधानिक अधिकारको पूर्ण संरक्षण गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा दूतावासले फिलिपिन्समा रहेका चिनियाँ नागरिक तथा संस्थाहरूको सुरक्षा र अधिकारको रक्षा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सम्बन्धित सबै पक्षलाई स्थानीय कानून तथा नियमहरूको कडाइका साथ पालना गर्न सुझाव दिएको छ।


सम्बन्धित समाचार