१५ जेठ, काठमाडमौं । गुण्डागर्दीमा संलग्न रहेको आरोप लाग्दै आएका युवराज गुरुङ, जो ‘सानुभाइ’का रूपमा चिनिन्छन्, ले पोखराको लेकसाइडस्थित एक रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् ।
गत आइतबार राति पोखराको ‘क्लब १६’ मा भएको सामान्य विवादलाई लिएर सानुभाइको समूहले अर्को समूहका युवामाथि कुटपिट गरेको हो । घटनापछि पीडित पक्षले पोखरा प्रहरीमा जाहेरी दिएका छन् भने आक्रमणमा संलग्न सानुभाइको समूह भने हाल फरार रहेको छ ।
आक्रमणपछि फरार रहेका गुरुङको खोजी कार्यलाई तीव्रता दिइएको छ । प्रहरीका अनुसार, काठमाडौंबाट पोखरा पुगेको उक्त समूहको खोजीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत परिचालन गरिएको छ । पटक–पटक पक्राउ पर्दै आएका सानुभाइ प्रहरीका लागि पुरानै टाउको दुखाइको विषय हुन् । उनी पछिल्लो पटक गत चैतमा काठमाडौंको सामाखुसी क्षेत्रबाट अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका थिए ।
विगतमा प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय रहेका गुरुङको आपराधिक इतिहास लामो छ । धारिलो हतियार प्रहार, पेस्तोल देखाएर कुटपिट, बैंकिङ कसुर र क्लब सञ्चालकमाथि आक्रमण जस्ता थुप्रै गम्भीर अभियोगमा उनीविरुद्ध विगतमा पटक–पटक मुद्दा चलेका छन् ।
अघिल्लो वर्ष ठमेलमा क्लब सञ्चालकलाई कुटेको आरोपमा पक्राउ पर्दा उनलाई प्रहरीले हतकडीसहित बजार घुमाएको थियो । आपराधिक गतिविधिमा अभ्यस्त रहेका गुरुङको पछिल्लो आक्रमणले पोखराको लेकसाइड क्षेत्रमा पुनः त्रास सिर्जना गरेको छ ।


















