१६ जेठ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरणको विषयमा बनेको भनिएको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’ नामका समूहले शाखा कार्यालयमा गरेको तालाबन्दीप्रति कडा आपत्ति जनाएको छ।
महासंघका अनुसार सार्वजनिक बिदाको दिन, कुनै औपचारिक जानकारी नदिई कार्यालय बन्द रहेको बेला केही व्यक्तिहरूले ताला लगाई सामाजिक सञ्जालमा प्रसारण गरेको गतिविधि संस्थाको गरिमामाथिको प्रहार र पर्सेली पत्रकारिताको एकता तथा विश्वासमाथिको चोट हो।
शाखाले सदस्यता शुद्धीकरणप्रति पूर्ण प्रतिबद्धता जनाउँदै यो प्रक्रिया व्यक्तिको आग्रह वा दबाबमा नभई विधि, विधान र सहमतिमै चल्नुपर्ने स्पष्ट गरेको छ। यसअघि शाखाले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई निर्णय पुस्तिका, सदस्यता अभिलेख र आर्थिक कागजात तीन दिनभित्र बुझाउन औपचारिक पत्राचार गरेको थियो। तर कागजात बुझाई सहयोग गर्नुभन्दा उल्टै उहाँकै नेतृत्वमा तालाबन्दी भएको भन्दै शाखाले गम्भीर प्रश्न उठाएको छ।
निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएका सदस्यहरूको मताधिकारबाट वर्तमान नेतृत्व बनेको यथार्थ रहेको अवस्थामा निर्णय पुस्तिका, आर्थिक विवरण र अन्य अभिलेख अहिलेसम्म नबुझिनु चिन्ताजनक रहेको शाखाको भनाइ छ। साधारणसभा गर्ने तयारीबीच बारम्बार अवरोध, बैठक रोक्ने प्रयास र हरहिसाब बुझाउने निर्णय बेवास्ता हुनु संस्थालाई अन्योलमा धकेल्ने गतिविधि भएको शाखाले आरोप लगाएको छ।
महासंघ पर्सा शाखाले निर्णय पुस्तिका र सम्पूर्ण कागजात तत्काल हस्तान्तरण गर्न, तालाबन्दी हटाई संवादमा आउन पुनः आग्रह गरेको छ। पछिल्ला गतिविधि दोहोरिएमा कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएको छ।





















