१६ जेठ,काठमाडौं । अमेरिकाको स्थापना भएको २५०औँ वर्षगाँठ (जुलाई ४, २०२६) को अवसर पारेर ट्रम्प प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा संसद्मा दर्ता भएको ‘डोनाल्ड जे. ट्रम्प २५० डलर बिल एक्ट’ पारित भएमा उक्त योजना कार्यान्वयनतर्फ अघि बढ्ने बताएका छन्।
अमेरिकी इतिहासमा विरलै देखिने यस्तो कदमका लागि सरकारले नोट छाप्ने सरकारी निकाय ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ (बीइपी) लाई प्रारम्भिक नमुना तथा पूर्वतयारीका काम अघि बढाउन निर्देशन दिइसकेको बताइएको छ।
यद्यपि, योजनाको कार्यान्वयनमा सन् १८६६ देखि लागू रहेको अमेरिकी कानुन प्रमुख बाधाका रूपमा रहेको छ। उक्त कानुनअनुसार कुनै पनि जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रामा छाप्न पाइँदैन।
यस कानुनी व्यवस्था संशोधन गर्न रिपब्लिकन सांसद जो विल्सनले संसद्मा विधेयक दर्ता गराएका छन्। उक्त विधेयकलाई हालै संसद्को वित्तीय सेवा समितिले सुनुवाइका लागि अनुमति दिएको जनाइएको छ।
यदि कंग्रेसबाट कानुन संशोधन भई विधेयक पारित भएमा ट्रम्प जीवित अवस्थामै आफ्नो तस्बिर अमेरिकी नोटमा अंकित हुने दुर्लभ व्यक्तिहरूमध्ये एक बन्नेछन्।
ब्रिटिस कलाकार इयान अलेक्जेन्डरले तयार पारेको प्रारम्भिक डिजाइनमा अमेरिकी झण्डाका रङ तथा अमेरिकाको २५०औँ वार्षिकोत्सवको लोगो समावेश गरिएको छ। उक्त डिजाइनलाई राष्ट्रपति ट्रम्पले स्वीकृति दिइसकेको बताइएको छ।
तर योजना विवादरहित भने छैन। मुद्रा विज्ञ तथा सम्बन्धित निकायका केही अधिकारीहरूले नयाँ सुरक्षा प्रणालीसहितको नोट तयार गर्न तथा एटीएम लगायतका वित्तीय उपकरणहरूलाई अनुकूल बनाउन ६ देखि ८ वर्षसम्म लाग्न सक्ने भन्दै हतार नगर्न सुझाव दिएका छन्।
यस विषयमा असहमति जनाएकी विभागकी पहिलो महिला निर्देशक प्याट्रिसिया सोलिमेनलाई गत अप्रिलमा पदमुक्त गरिएपछि विवाद झन् चर्किएको छ। विपक्षी डेमोक्र्याट नेताहरूले भने यस योजनालाई राष्ट्रिय उत्सवभन्दा बढी राष्ट्रपतिलाई व्यक्तिकेन्द्रित रूपमा प्रस्तुत गर्ने प्रयास भएको भन्दै आलोचना गरेका छन्।




















