१६ जेठ,काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल निमोनिया संक्रमण भएपछि अस्पताल भर्ना भएका छन्।
प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल मा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार तीन दिनयता प्रचण्डलाई रुघाखोकी तथा ज्वरोको समस्या देखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा हल्का निमोनिया संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरी उपचार थालिएको हो।
‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरूले अस्पताल भर्ना गरेर उपचार गरिरहेका छन्,’ आचार्यले बताएका छन्।
उपचारपछि प्रचण्डको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको पनि उनले जानकारी दिए।
अस्वस्थताकै कारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा बसेको संघीय संसद्को बैठकमा सहभागी हुन सकेका थिएनन्।




















