१६ जेठ,काठमाडौं । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक पाँचदिने औपचारिक भ्रमणका लागि शनिबार भारत पुगेका छन्।
भारत र म्यान्मा सरकारका अनुसार भ्रमणका क्रममा राष्ट्रपति ह्लाइङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै उनले व्यापारिक प्रतिनिधिहरूसँग पनि छलफल गर्ने जनाइएको छ।
भारतको विदेश मन्त्रालयले ह्लाइङको भ्रमणबारे जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले भारतको बिहार राज्यमा राष्ट्रपति ह्लाइङलाई स्वागत गरिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
भ्रमणको सुरुआत राष्ट्रपति ह्लाइङले बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल बोधगयाबाट गर्ने कार्यक्रम छ। बोधगया भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ऐतिहासिक स्थलका रूपमा परिचित छ।
प्रवक्ता जयस्वालले यो भ्रमणले भारत र म्यान्माबीचको गहिरो आध्यात्मिक, ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई प्रतिबिम्बित गर्नुका साथै दुई देशबीचको निरन्तर सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
भारतको विदेश मन्त्रालयका अनुसार आगामी सोमबार नयाँदिल्लीमा हुने भेटवार्तामा प्रधानमन्त्री मोदी, राष्ट्रपति मुर्मु र राष्ट्रपति ह्लाइङबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत छलफल हुनेछ। आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि कुराकानी हुने जनाइएको छ।
मिन आङ ह्लाइङले गत अप्रिलमा म्यान्माको राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका थिए। उनको शपथ ग्रहण समारोहमा चीन, भारत, थाइल्यान्डसहित विभिन्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए।




















