Logo

१७ जेठ, (माडी) चितवन । गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा माडीमा आयोजित मौलिक सांस्कृतिक उत्सवमा जब साना बालबालिकाहरू किसान, डाक्टर, वकिल, सैनिक, प्रहरीदेखि विभिन्न जातीय समुदायका परम्परागत पहिरनमा सजिएर मञ्चमा उत्रिए, त्यतिबेला बसन्तपुरको चौरमा उपस्थित हजारौँ दर्शकदीर्घाबाट एउटै साझा र बलियो आवाज सुनियो— “विविधतामा नै हाम्रो शक्ति छ, हामी सबै नेपाली हौँ।”

माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा सम्पन्न “माडी मौलिक सांस्कृतिक उत्सव–२०८३” मा यस पटक पिसल्यान्ड बोर्डिङ स्कुलका विद्यार्थीहरूको बहुआयामिक प्रस्तुति विशेष आकर्षण र चर्चाको केन्द्र बन्यो। बसन्तपुर बजारबाट सुरु भएको भव्य सांस्कृतिक र्‍यालीमा सहभागी ती अबोध बालबालिकाले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सडकमा जीवन्त रूपमा उतारेका थिए।

र्‍यालीमा कोही मधेसी समुदायको मौलिक धोती-कुर्तामा थिए भने कोही मगर, थारु, तामाङ र शेर्पा समुदायको सांस्कृतिक पहिचान झल्किने भेषभूषामा सजिएका थिए। कतिपय विद्यार्थीहरू राष्ट्रिय पोशाक दौरा-सुरुवाल र गुन्यू-चोलीमा ठाँटिएका थिए भने केहीले देशको मेरुदण्ड मानिने किसान, अनि समाजका अभिन्न अङ्ग डाक्टर, वकिल, एयर होस्टेस, नेपाल प्रहरी र नेपाली सेनाको पोशाक लगाएर विभिन्न पेसाको गरिमा र महत्वलाई समाजमा उजागर गरेका थिए।

बालबालिकाको रुचि र लक्ष्य निर्धारणको कडी

विद्यालयकी इसीए हेड मेनुका बोहराका अनुसार यो प्रस्तुति केवल एउटा सामान्य सांस्कृतिक प्रदर्शनमा मात्र सीमित थिएन। बालबालिकाले आफ्नो भविष्यप्रतिको सपना, अभिरुचि र पहिचानलाई समेत मञ्चमार्फत कलात्मक रूपमा अभिव्यक्त गरेका थिए।

“हामीले विद्यार्थीहरूलाई आफूलाई मनपर्ने पहिरन छनोट गर्न पूर्ण स्वतन्त्रता दिएका थियौँ। कसैले आफ्नो समुदायको गौरवमय पहिचान रोजे, कसैले आफू भविष्यमा बन्न चाहेको पेसाको प्रतीकात्मक पोशाक। यसले बालबालिकामा बाल्यकालदेखि नै आत्मविश्वास र लक्ष्य निर्धारणको भावना विकास गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो।

विद्यालयमा नियमित रूपमा सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले विद्यार्थीहरू यस्ता खुला मञ्चमा आफ्नो प्रतिभा निर्धक्क प्रदर्शन गर्न सहज महसुस गर्ने र यसले विभिन्न समुदायबीच आपसी सम्मान, सहअस्तित्व र एकताको भावना विकास गर्ने उहाँको विश्वास छ।

यसैगरी, विद्यालयका सहायक प्रधानाध्यापक नारायण सुवेदीले पनि यस सांस्कृतिक उत्सवलाई केवल मनोरञ्जनभन्दा बढी सिकाइ, संस्कार र प्रेरणाको अवसरका रूपमा व्याख्या गर्नुभयो। वर्तमान समयमा अध्ययन पूरा हुनासाथ विदेशिने युवा सोच र लहड बढिरहेका बेला आफ्नै देशभित्र रहेका सम्भावना, पेसा र अवसरबारे बालबालिकालाई बेलैमा सोच्न प्रेरित गर्नु राष्ट्रिय दायित्व भएको उहाँको भनाइ छ।

“जब स(साना विद्यार्थीहरूले डाक्टर, वकिल, प्रहरी, सैनिक वा देशको अन्नदाता किसानको भूमिकामा आफूलाई गर्वका साथ प्रस्तुत गर्छन्, त्यसले उनीहरूमा देशमै केही गर्ने प्रेरणा दिन्छ र समाजका हरेक वर्गप्रति सम्मान गर्ने संस्कार सिकाउँछ,” सुवेदीले प्रस्ट पार्नुभयो।

गणतन्त्रको वास्तविक मर्म, साझा नेपालीपन

उत्सवका क्रममा पिसल्यान्ड बोर्डिङका विद्यार्थीहरूले प्रस्तुत गरेको यो अर्थपूर्ण झाँकीलाई माडी प्रज्ञा प्रतिष्ठानले पनि उत्सवको मूल उद्देश्यसँग जोडेर उच्च मूल्याङ्कन गरेको छ। प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले माडीको रैथाने संस्कृति, भाषा, कला, इतिहास र परम्परालाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयको यो सहभागिताले विशेष र गरिमामय अर्थ थपेको बताउनुभयो।

अध्यक्ष सापकोटाले भन्नुभयो, “बालबालिकाले प्रस्तुत गरेको विविधताभित्रको सुन्दर एकता र विभिन्न पेसाप्रतिको उच्च सम्मानले समाजलाई निकै ठुलो सकारात्मक सन्देश दिएको छ। गणतन्त्रको वास्तविक मर्म पनि यही हो, जहाँ सबै समुदाय, भाषा, संस्कृति र पहिचानलाई समान सम्मान गर्दै एउटा साझा र मजबुत नेपालीपनको निर्माण गरिन्छ।ू यही सद्भावको भावनालाई व्यावहारिक रूपमा संस्थागत गर्न माडीमा यस्ता मौलिक सांस्कृतिक उत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उहाँले घोषणा गर्नुभयो।

बसन्तपुरको खुला चौरमा कार्यक्रम अवधिभर बालबालिकाहरूको निष्छल प्रस्तुतिले प्रवाह गरेको एउटै सन्देश सबैभन्दा प्रभावशाली र मन छुने बन्यो— “कोही छैन फरक, हामी सबै नेपाली।” विभिन्न जातजाति, भाषा, धर्म र पेसागत पहिचानलाई एउटै मालामा उनेर उनीहरूले नेपाली समाजको सुन्दर विविधता नै राष्ट्रिय एकताको अकाट्य आधार हो भन्ने कुरा प्रमाणित गरिदिए। उत्सवमा सहभागी स्थानीय बुद्धिजीवी र अभिभावकहरूका अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित यो उत्सव केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई सामाजिक सद्भाव, आपसी सहिष्णुता, राष्ट्रिय एकता र पारस्परिक सम्मानको एउटा जीवन्त र ऐतिहासिक अभ्यास बन्न सफल भएको छ।


सम्बन्धित समाचार