१७ जेठ, (माडी) चितवन । माडीको बसन्तपुरमा हालै सम्पन्न “माडी मौलिक सांस्कृतिक उत्सव २०८३” ले सांस्कृतिक विविधता, सामाजिक एकता र मौलिक पहिचानको सशक्त सन्देश दिएको छ। तर, यस ऐतिहासिक उत्सवको भव्यता, व्यवस्थापन र भव्य सफलताको पर्दापछाडि स्थानीय बसन्तपुर टोल विकास संस्थाले निर्वाह गरेको अहम् भूमिका यतिवेला माडीभरि विशेष रूपमा प्रशंसित बनेको छ।
माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा सम्पन्न यस उत्सवलाई सफल बनाउन बसन्तपुर टोल विकास संस्थाले कार्यक्रम हुनुअगावै आफ्नो काँधमा आएको जिम्मेवारीलाई गम्भीरताका साथ आत्मसात् गरेको थियो। उत्सव आफ्नै आँगनमा आयोजना हुने भएपछि टोलबासीहरूले यसलाई केवल एउटा सामान्य कार्यक्रमका रूपमा मात्र नलिई समग्र माडीकै प्रतिष्ठा र गौरवको विषय बनाएर तयारीमा जुटेका थिए।
सरसफाइ अभियान र आत्मीय आतिथ्यको नमुना
उत्सव सुरु हुनुअघि नै बजार क्षेत्र, सार्वजनिक स्थल, सडक किनार तथा मूल कार्यक्रमस्थल वरपर व्यापक रूपमा विशेष सरसफाइ अभियान चलाइएको थियो। टोल विकास संस्थाको अगुवाइमा सञ्चालित उक्त सफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, युवा, स्थानीय व्यवसायी तथा सर्वसाधारणको स्वःस्फूर्त र उल्लेखनीय सहभागिता रहेको थियो। जसका कारण उत्सवको पहिलो दिन भुईँमा टेक्न आइपुग्ने आगन्तुकहरूका लागि सफा, स्वच्छ र व्यवस्थित वातावरणले पहिलो गाँसमै सकारात्मक प्रभाव छोडेको थियो।
कार्यक्रमको दिन बसन्तपुर बजार प्रवेश गर्ने मौलिक झाँकीसहितको विशाल र्यालीलाई मर्यादित र व्यवस्थित बनाउन पनि टोल विकास संस्थाका सदस्यहरू फ्रन्टलाइनमा खटिएका थिए। र्यालीलाई स्वागत गर्न मुख्य प्रवेशद्वारमा फूल(अक्षतासहितको विशेष स्वागतद्वार निर्माण गरिएको थियो भने गर्मीको समयमा आगन्तुकहरूको सहजता र आत्मीय आतिथ्यलाई मध्यनजर गर्दै निःशुल्क शुद्ध खानेपानीको प्रबन्ध मिलाइएको थियो। टोलका सदस्यहरू आफ्नै परम्परागत पहिचान झल्किने भेषभूषामा सजिएर अतिथि तथा दर्शकहरूको स्वागतमा मुस्कुराउँदै उभिएका थिए। उनीहरूको उच्च अनुशासन, आत्मीय व्यवहार र सांस्कृतिक प्रस्तुतिले बसन्तपुरको मौलिक सौन्दर्यलाई थप आकर्षक र गरिमामय बनाएको थियो।
मूल सांस्कृतिक मञ्च र वरपरको चौर व्यवस्थापनमा पनि संस्थाका पदाधिकारी र सदस्यहरू दिनभर खटिएका थिए। दर्शक दीर्घाको व्यवस्थापन, अतिथि सत्कार, १४ वटा स्टलहरूको आन्तरिक व्यवस्थापन तथा भीडभाडमा आवतजावतको सहजता कायम राख्न स्वयंसेवकहरू निरन्तर सक्रिय देखिए। विशेषगरी स्टलहरूमा माडीको रैथानेपन मर्नुहुँदैन भन्ने मान्यताका साथ स्थानीय उत्पादन, घरेलु परिकार र होमस्टे प्रवर्द्धनलाई प्राथमिकता दिन संस्थाले विशेष समन्वय गरेको थियो।
बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष यमकुमार ल्वागुनले यो ऐतिहासिक सफलता कुनै एक संस्था वा व्यक्तिको एकल प्रयासले मात्र सम्भव नभएको बताउनुभयो। टोल विकास संस्थाले केवल समन्वय र सहजकर्ताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान, सुरक्षा निकाय, स्थानीय युवा क्लब, आमा समूह, बुद्धिजीवी र सम्पूर्ण माडीबासीको अभूतपूर्व साथले मात्र कार्यक्रम यो उचाइमा पुगेको स्पष्ट पार्नुभयो। उहाँले तयारीका क्रममा नगर र प्रज्ञा प्रतिष्ठानसँग चौबीसै घण्टा संवाद र सहकार्य भएको जानकारी दिनुभयो।
नेतृत्वको प्रशंसा, अन्य टोलका लागि प्रेरणाको स्रोत
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बसन्तपुर टोल विकास संस्थाले आफ्नो विधि, विधान र सामाजिक जिम्मेवारीको कसीमा रहेर शतप्रतिशत काम फत्ते गर्दै समाजमा एउटा अनुकरणीय र ऐतिहासिक उदाहरण प्रस्तुत गरेको बताउनुभयो। सरसफाइ, व्यवस्थापन, अतिथि सत्कार र स्थानीय समुदाय परिचालनमा देखाएको यो जाँगर अन्य टोल विकास संस्थाहरूका लागि पनि मार्गदर्शक र प्रेरणादायी बनेको भुसालको भनाइ थियो।
त्यसैगरी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले पनि संस्थाको निरन्तरको समर्पण र जिम्मेवारीबोधको उच्च प्रशंसा गर्नुभयो। उहाँले स्थानीय समुदाय आफैँ अग्रसर नभएसम्म मौलिक संस्कृति र सम्पदा संरक्षणका कुनै पनि अभियान दिगो र प्रभावकारी हुन नसक्ने भन्दै बसन्तपुर टोल विकास संस्थाको यो कडा मिहिनेतको प्रज्ञा प्रतिष्ठानले उच्च सम्मान गर्ने बताउनुभयो।
स्थानीय सरकारको नीति, आयोजकको अवधारणा र भुईँतहका नागरिकहरूबीच एउटा बलियो पुलको काम गर्ने टोल विकास संस्थाजस्ता संरचनाहरू सक्रिय हुँदा ठुला(ठुला राष्ट्रिय उत्सवहरू पनि कति व्यवस्थित र जनमुखी बन्न सक्छन् भन्ने कुरा यस पटक बसन्तपुरले प्रमाणित गरिदिएको छ। उत्सवको यो भव्य सफलताले स्पष्ट सन्देश दिएको छ— जब समुदाय आफैँ आफ्नो माटो, संस्कृति र पहिचानप्रति ब्युँझिन्छ र जिम्मेवार बन्छ, तब कुनै पनि कार्यक्रम केवल औपचारिकताको घेरामा खुम्चिँदैन, सिधै इतिहास बन्न पुग्छ।




















