२२ जेठ,काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै जेलेन्स्कीले आफू र पुटिनबीच आमनेसामने संवाद हुनुपर्ने बताएका हुन्। उनले युक्रेन र रुसबीच प्रत्यक्ष वार्तामार्फत मात्रै दीर्घकालीन शान्तिको मार्ग खुल्ने उल्लेख गरेका छन्।
“युरोपको युद्ध फेरि एकपटक अमेरिकाको ध्यानको केन्द्रबिन्दु बन्ने प्रतीक्षा गर्नु गलत हुनेछ,” जेलेन्स्कीले आफ्नो सन्देशमा लेखेका छन्।
युक्रेनी राष्ट्रपतिले प्रस्तावित उच्चस्तरीय वार्ता नभएसम्म पूर्ण युद्धविराम लागू गर्न समेत आह्वान गरेका छन्। तर रुसी राष्ट्रपति पुटिनले बिहीबार नै युद्धविरामको उक्त प्रस्ताव अस्वीकार गरिसकेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच प्रत्यक्ष भेटवार्ता भए सकारात्मक परिणाम आउन सक्ने प्रतिक्रिया दिएका छन्। “यदि दुई नेता भेट्छन् भने त्यो राम्रो हुनेछ,” ट्रम्पको भनाइ उद्धृत गरिएको छ।
क्रेमलिनले जेलेन्स्कीको सन्देश प्राप्त भएको पुष्टि गर्दै त्यसबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइने जनाएको छ।
जेलेन्स्कीको सन्देशमा आलोचनात्मक र चुनौतीपूर्ण स्वर पनि देखिएको छ। उनले हालै युक्रेनले रुसी भूभागमा गरेको आक्रमणतर्फ संकेत गर्दै पुटिनको नेतृत्वमाथि प्रश्न उठाएका छन्।
“२६ वर्षदेखि सत्तामा रहेका पुटिनको बढ्दो उमेरले अब असर देखाउन थालेको छ,” जेलेन्स्कीले टिप्पणी गरेका छन्।
सन्देशको अन्त्यमा उनले प्रत्यक्ष वार्तामार्फत युद्ध अन्त्य गर्न आफू तयार रहेको जनाउँदै पुटिनलाई भेटवार्ताको औपचारिक निमन्त्रणा दिएका छन्।

















