Logo

२२ जेठ,काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म तातो हावा (लु) चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम स्तरको तातो लहर देखिन सक्ने अनुमान गरिएको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको मौसम सूचनाअनुसार कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि अत्यधिक गर्मी रहने सम्भावना छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने विभागले जनाएको छ।

अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पार्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार तराईका विभिन्न जिल्लाहरू उच्च जोखिममा रहेका छन्। सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुर जिल्लालाई बढी संवेदनशील क्षेत्रको सूचीमा राखिएको छ।

प्राधिकरणले अत्यधिक गर्मीको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सूती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न आग्रह गरेको छ। मौसमको पछिल्लो अवस्थाबारे नियमित जानकारी लिनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।


सम्बन्धित समाचार