९ असार,चितवन । माडी–भरतपुर जोड्ने हुलाकी सडक खण्डअन्तर्गत ध्रुवघाट क्षेत्रको समस्याग्रस्त सडकको बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा चितवन–३ की प्रतिनिधिसभा सदस्य सोबिता गौतम तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका छन्।
सडकको निरीक्षणपछि पूर्वाधार विकासमन्त्री लम्सालले तत्कालका लागि डिबिएसटी पिचमार्फत सवारी आवागमन सहज बनाइने तथा दीर्घकालीन समाधानका लागि ध्रुवघाटमा पक्की पुल निर्माण गरी व्यवस्थित सडक सञ्जाल विस्तार गरिने बताए।
उनले पुल र सडक निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको र छिट्टै ठेक्का आह्वान गरिने जानकारी दिए।हाल वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम भइरहेको उक्त सडक माडीबाट भरतपुर पुग्ने मुख्य र एकमात्र मार्ग हो।
कानुनमन्त्री तथा चितवन–३ की सांसद सोबिता गौतमले ध्रुवपोष्ट क्षेत्रबाट राप्ती नदीमाथि करिब ५०० मिटर लामो पुल निर्माण गरिने जानकारी दिँदै निकुञ्जभित्र पर्ने सडकको वैकल्पिक रेखाङ्कनसमेत भइरहेको बताइन्।
ध्रुवघाटमा पुल निर्माण सम्पन्न भए माडी जाने दूरी झण्डै पाँच किलोमिटरले छोटिनेछ। भरतपुर–माडी–ठोरी हुँदै वीरगञ्जसम्म जोड्ने यो सडक सीमावर्ती भिखना ठोरी पुग्ने सबैभन्दा छोटो मार्गसमेत हो।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै माडी क्षेत्रमा मानव बस्ती रहेको भए पनि निकुञ्जभित्र पर्ने सडक खण्ड वर्षौंदेखि धुलाम्मे र जीर्ण अवस्थामै रहेको छ। सडकमा गुड्ने सवारीसाधनका कारण उड्ने धुलोले यात्रु, स्थानीय बासिन्दा तथा निकुञ्जभित्रका वन्यजन्तु, वनस्पति र जैविक विविधतामा समेत असर पुर्याउँदै आएको छ। विभिन्न कानुनी तथा वातावरणीय जटिलताका कारण सडक स्तरोन्नतिको काम लामो समयदेखि प्रभावित हुँदै आएको स्थानीयवासीको गुनासो छ।
स्थानीयवासीले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउँदै दशकौँदेखिको समस्याको स्थायी समाधान खोज्नुपर्ने माग गर्दै आएका छन्। तीन मन्त्रीको संयुक्त निरीक्षण र पुल निर्माणको प्रतिबद्धतासँगै अब माडीवासीले वर्षौंदेखि भोग्दै आएको धुलो, सास्ती र जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने आशा गरेका छन्।

















