Logo

९ असार,वीरगञ्ज । बाराको निजगढ नगरपालिका–२ स्थित सिङ्गौल वन क्षेत्रभित्र अतिक्रमणमा परेको करिब ८ हेक्टर वन भूमि डिभिजन वन कार्यालय बाराले सोमबार खाली गराएको छ। सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएको अभियानमार्फत वन क्षेत्रमा बनाइएका घरटहरा हटाएर भूमि पुनः वनको स्वामित्वमा ल्याइएको हो।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजीत कुमार झाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने अभियान साँझ ४ बजेसम्म सञ्चालन गरिएको थियो। अभियानका क्रममा वन क्षेत्रभित्र निर्माण गरिएका ११ वटा घरटहरा हटाइएको उनले बताए।

वन कार्यालयले यसअघि पनि उक्त क्षेत्रमा फैलिएको अतिक्रमण हटाउन कानुनी प्रक्रिया अघि बढाएको थियो। कार्यालयले दायर गरेको मुद्दामा अदालतबाट पक्षमा फैसला आएपछि गत वर्ष १३ हेक्टर क्षेत्रफलमा लगाइएका खेतीबाली हटाएर उक्त भूमि पुनः वन क्षेत्रमा समावेश गरिएको थियो। सो क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

वन ऐन, २०७६ र वन नियमावली, २०७९ अनुसार सञ्चालन गरिएको अभियान मानव–वन्यजन्तु द्वन्द्वको उच्च जोखिम रहेको क्षेत्रमा केन्द्रित गरिएको थियो। वन क्षेत्रको संरक्षण, जैविक विविधताको सुरक्षा तथा वन्यजन्तुको प्राकृतिक बासस्थान जोगाउने उद्देश्यले अतिक्रमण हटाइएको वन कार्यालयले जनाएको छ।

अभियानका क्रममा कुनै अप्रिय घटना नभएको र सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। अभियान सफल बनाउन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन प्राविधिक, वन सुरक्षा कर्मचारी, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायको सहयोग रहेको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय बाराले वन अतिक्रमण नियन्त्रण तथा वन क्षेत्र संरक्षणका लागि आगामी दिनमा पनि कानुनबमोजिम यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै