Logo

११ असार, काठमाडौँ । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राजधानी काराकासमा एकपछि अर्को गरी गएको विनाशकारी भूकम्पका कारण ठुलो मानवीय र भौतिक क्षति भएपछि देशव्यापी रूपमा संकटकाल (आपतकाल) घोषणा गरिएको छ । भूकम्पमा परी हजारौँ मानिसको मृत्यु भएको आशंकाबीच सरकारले राहत र उद्धारलाई तीव्रता दिन यो कदम चालेको हो ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै औपचारिक रूपमा देशमा संकटकाल लागू भएको घोषणा गरे । टेलिभिजनमार्फत गरिएको सो भावुक सम्बोधनका क्रममा कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँगै देशका गृहमन्त्री, राष्ट्रिय सभाका प्रमुख एवं उनका भाइ जर्ज रोड्रिगेजको समेत उपस्थिति  थियो । राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्धार कार्यको कमान्ड सम्हाल्न र त्यसको निरीक्षण गर्न एक सैनिक जनरललाई विशेष जिम्मेवारी तोकिएको जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार राजधानी काराकास र आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर केही सेकेन्डको अन्तरालमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका धक्काहरू गएका थिए । लगातार आएका यी शक्तिशाली धक्काका कारण राजधानीका कयौँ आवासीय भवन, व्यावसायिक कम्प्लेक्स र सरकारी संरचनाहरू भत्किएर भग्नावशेषमा परिणत भएका छन् ।

यूएसजीएसले प्रारम्भिक तथ्याङ्क र क्षतिको प्रकृतिको विश्लेषण गर्दै यस महाविपत्तिमा मृत्यु हुनेहरूको सङ्ख्या १० हजार नाघ्न सक्ने सम्भावना ४४ प्रतिशत रहेको प्रक्षेपण गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पका कारण सञ्चार, विद्युत र यातायातका पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएकाले क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने देखिएको छ । कयौँ मानिसहरू अझै पनि भत्किएका भवनका भग्नावशेषभित्र पुरिएको आशंकामा स्थानीय उद्धारकर्मी र सेनाले खोजी गरिरहेका छन् । अस्पतालहरू घाइतेहरूले भरिएका छन् भने कतिपय स्थानमा खुला आकाशमुनि नै प्राथमिक उपचार भइरहेको छ ।

विपत्तिका कारण देशमा खाद्यान्न, औषधि र सुरक्षित पिउने पानीको चरम अभाव देखिएपछि भेनेजुएला सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आकस्मिक मानवीय सहायताका लागि अपिलसमेत गरेको छ ।


सम्बन्धित समाचार