२७ असार, काठमाडौँ । नेपालमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएसँगै देशभर वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथिअवस्थित रहेकाले देशैभरि बदलीसँगै वर्षा गराउने मौसमी प्रणाली विकसित भएको हो ।
यो मौसमी प्रणालीका कारण हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभरको आकाश अधिकांश बादलले ढाकिनेछ। देशका हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, पहाडी भू-भागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा चट्याङसहित मध्यम झरी पर्ने अनुमान गरिएको छ।
विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रहरूमा आकस्मिक बाढी र पहिरोको जोखिम बढेको छ।
आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा जारी रहनेछ।
महाशाखाका अनुसार राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको पहाडी र गण्डकी, लुम्बिनी प्रदेशकै तराई भू-भागको एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
मनसुन सक्रिय भएसँगै वर्षाका बेला देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना उच्च रहने मौसमविद्हरूले बताएका छन् । चट्याङ र भारी वर्षाका कारण हुन सक्ने जनधनको क्षति कम गर्न, भिरालो जमिनमा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा यातायात र दैनिक जनजीवनमा आउन सक्ने अवरोधलाई मध्यनजर गर्दै पूर्वतयारी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।



















