२७ असार, काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित आफ्नै डेरामा ती पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउतका रूपमा खुलेको छ । छिमेकी र परिवारले उद्धार गरी उनलाई तत्काल उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शनिबार बिहान राउतको आफ्नै छोरासँग घरायसी विषयमा भनाभन र विवाद भएको थियो । छोरासँगको विवादपछि आक्रोश र मानसिक तनावमा आएका राउतले घरको भान्सा कोठामा छिरेर आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ छर्की आगो लगाएका थिए ।
भान्साबाट एकाएक धुवाँ र चिच्याएको आवाज आएपछि परिवारका अन्य सदस्य र छिमेकीहरूले ढोका फोडेर आगो निभाएका थिए । लगत्तै प्रहरीलाई खबर गरी उनलाई अस्पताल पुर्याइएको थियो ।
वीर अस्पतालको बर्न वार्डमा उपचाररत राउतको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन् । एसपी भट्टराईका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलिसकेकाले अवस्था छ ।



















