Logo

२७ असार, काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक क्षेत्रबाट हटाएका सुकुमबासीहरूलाई राखेको कीर्तिपुरस्थित होल्डिङ सेन्टर गएरातिको अविरल वर्षाका कारण पूर्ण रूपमा जलमग्न बनेको छ । बाढी र डुबानका कारण सेन्टरमा आश्रय लिइरहेका १५४ जना सुकुमबासीहरूको जनजीवन कष्टकर बनेको छ भने पीडितहरूले राज्यको लाचारीप्रति आक्रोश व्यक्त गरेका छन् ।

डुबानमा परेका पीडितहरूले रातभर पानीमा डुब्दा र सामानहरू बगाउँदा समेत सरकार, स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धारमा कुनै चासो नदेखाएको गम्भीर आरोप लगाएका छन्।  “हामीलाई खोला किनारबाट उठाएर फेरि खोलाकै जस्तो डुबान हुने ठाउँमा ल्याएर राखियो,” एक पीडितले आक्रोश पोख्दै भने, “हाम्रो यो बिचल्ली र रातभरको छटपटी तिम्रो कालो चस्माले देख्छ सरकार?”

रातभरको जलमग्न अवस्थापछि शनिबार बिहान मात्र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले होल्डिङ सेन्टरमा फसेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको स्मृति भवनमा स्थानान्तरण गरेको छ ।

बाँकी रहेकामध्ये ६ जना आफैँ सुरक्षित स्थान, आफन्तकोमा बस्न गएका छन् भने ९४ जनाले सेन्टर छाडेर अन्यत्र जान अस्वीकार गरेका छन् । अन्यत्र जान नमान्नेहरू अहिले सेन्टरभित्रै पानी नपसेको केही अग्लो र सुरक्षित भागमा बसिरहेका छन् ।

व्यवस्थापनमाथि गम्भीर प्रश्न

सुकुमबासीहरूलाई अल्पकालीन व्यवस्थापनका लागि राखिएको होल्डिङ सेन्टर नै पहिलो वर्षामा जलमग्न भएपछि सरकारको पूर्वतयारी र स्थानान्तरण योजनामाथि गम्भीर प्रश्न खडा भएको छ । सुरक्षित र व्यवस्थित बसोबासको ग्यारेन्टी नगरी हतार-हतार यी क्षेत्रमा राखिँदा बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरू झन् ठुलो स्वास्थ्य र सुरक्षाको जोखिममा परेका छन् ।


सम्बन्धित समाचार