Logo

५ साउन, काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको अवस्थामा एउटा कारमा भीषण आगलागी हुँदा चालकको जलेर दर्दनाक मृत्यु भएको छ ।

मंगलबार दिउँसो ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा अचानक आगलागी भएको हो । हिँडिरहेको गाडीमा एक्कासि आगो झोसेपछि चालक बाहिर निस्कन नपाएका कारण ठूलो मानवीय क्षति हुन पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दिएको जानकारी अनुसार आगलागी नियन्त्रणमा आएपछि जाँच गर्दा चालक सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्रै मृत फेला परेका छन् । यद्यपि, ज्यान गुमाएका चालकको पहिचान र सनाखत भने हालसम्म खुल्न सकेको छैन। घटनाको सूचना पालगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने यन्त्र (फायर एक्स्टिङ्गुइसर) को प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए भने पछि घटनास्थलमा दमकल समेत पुगेको थियो ।

चालकको ज्यान लिने गरी गुडिरहेको गाडीमा कसरी अचानक आगलागी भयो भन्ने विषयमा अहिले नै केही खुल्न सकेको छैन । घटनाको प्रकृति रहस्यमय बनेको आशङ्कामा प्रहरीले यस दुर्घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


सम्बन्धित समाचार