१ जेठ,काठमाडौं । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रुपैयाँ हिनामिना तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का एक नेता पनि तानिएका छन्।
कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको हो। सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने तथा प्रहरीको पटक–पटकको ताकेतालाई बेवास्ता गर्ने व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पार्ने क्रममा रेग्मीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको कास्की प्रहरीका एक अधिकृतले बताएका छन्।
पक्राउ पुर्जी जारी भएपछि रास्वपा स्याङ्जाका नेता रेग्मी फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। रेग्मी धनञ्जय रेग्मीका स्वकीय सचिवसमेत हुन्। उनी यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिनमा मित्र मिलन सहकारीमा २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको तथ्य खुलेको थियो। वित्तीय विवरणमा गम्भीर कैफियत देखिएपछि बचतकर्ताहरूले रकम फिर्ता माग्दै उजुरी दिएका थिए।
उजुरीका आधारमा २०८० सालको मंसिरदेखि नै सहकारीका सञ्चालक तथा आबद्ध व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाइएको थियो। सोही क्रममा संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
यस प्रकरणमा दीपक सुवेदी, अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल तथा कानुनी सल्लाहकार जनकल्याण पराजुलीलगायतका व्यक्तिहरूमाथि पनि पक्राउ पुर्जी जारी गरिएको थियो।
प्रहरीका अनुसार केही आरोपितहरू हाल जेल सजाय काटिरहेका छन् भने ऋण नतिर्ने तथा रकम अपचलनमा संलग्न अन्य व्यक्तिहरूमाथि अनुसन्धानलाई थप कडा बनाइएको छ।


















