Logo

२ जेठ, काठमाडौँ । लामो समयदेखि हिंसात्मक द्वन्द्वमा फसेका इजरायल र लेबनानबीच आगामी ४५ दिनका लागि युद्धविराम बढाउने सहमति भएको छ । अमेरिकी राजधानी वासिङ्टन डीसीमा दुई दिनसम्म चलेको सघन वार्तापछि दुवै देश युद्धविरामको अवधि थप्न सहमत भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार घोषणा गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटका अनुसार यो अस्थायी युद्धविरामलाई दिगो शान्तिमा बदल्न दुवै देशका सैन्य टोलीहरू सम्मिलित उच्चस्तरीय सुरक्षा वार्ता आगामी मे २९ मा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मा सुरु हुनेछ । यस वार्ताले सीमा क्षेत्रको सुरक्षा व्यवस्था र स्थायी युद्धविरामका सर्तहरू तय गर्ने अपेक्षा गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल १६ मा नै युद्धविरामको घोषणा गरेका थिए। तर, सो घोषणाका बाबजुद इजरायल र लेबनानी सशस्त्र समूह हेजबुल्लाहबीच सीमा क्षेत्रमा घातक गोलाबारी र हवाई आक्रमण रोकिएका थिएनन् ।

कूटनीतिक रूपमा युद्धविरामको सहमति भइरहँदा जमिनमा भने रक्तपात जारी छ। बुधबार मात्रै लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायलको भीषण हवाई आक्रमणबाट दक्षिणी लेबनानमा ८ बालबालिकासहित २२ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ । कूटनीतिक वृत्तमा ४५ दिने युद्धविरामको घोषणालाई सकारात्मक रूपमा लिइए पनि मैदानमा जारी यो हिंसाले पेन्टागनमा हुने आगामी सैन्य वार्ता कति चुनौतीपूर्ण हुनेछ भन्ने सङ्केत गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै