२ जेठ, काठमाडौँ । नेकपा (एमाले) को आज (शनिबार) बस्ने भनिएको महत्त्वपूर्ण केन्द्रीय सचिवालय बैठक आगामी सोमबारसम्मका लागि सरेको छ । जेठ ३ गते आइतबार पर्ने ‘मदन–आश्रित स्मृति दिवस’ को विशेष तयारी र कार्यक्रमहरूमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले आज तय भएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अब यो बैठक सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुन्डुस्थित निजी निवासमा बस्नेछ ।
बैठक दुई दिन पछि सरे पनि यसका एजेन्डाहरू भने निकै पेचिला र अर्थपूर्ण रहने नेताहरूले बताएका छन्। सोमबार बस्ने बैठकमा पार्टीभित्रका नेताहरूको नयाँ कार्यविभाजन र साङ्गठनिक जिम्मेवारी हेरफेरबारे मुख्य छलफल हुनेछ । यसका साथै, गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामबारे पनि बैठकमा निर्मम समीक्षा हुने बताइएको छ ।
उक्त निर्वाचनमा पार्टीले लज्जास्पद नतिजा ब्यहोर्नुपरेको भन्दै एमालेभित्रै आन्तरिक असन्तुष्टि चुलिएको छ । कमजोर चुनावी परिणामको नैतिक जिम्मेवारी मुख्य नेतृत्वले नै लिनुपर्ने आवाज पार्टीको एउटा तप्काबाट बलियो गरी उठिरहेकाले सोमबार बस्ने सचिवालय बैठकमा चुनावी अन्तर्घात र रणनीतिबारे सदस्यहरूबीच गर्मागर्मी बहस हुने अनुमान गरिएको छ ।


















