२ जेठ,काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच कीर्तिपुरस्थित क्रिकेट मैदान प्रयोगसम्बन्धी २५ वर्षे सम्झौतामा मिति त्रुटि फेला परेको छ। त्रुटिपूर्ण मितिका कारण सम्झौता सकिने समयभन्दा करिब ११ महिना अगावै विश्वविद्यालयले क्यानलाई मैदान खाली गर्न पत्र पठाएको खुलेको छ।
२०५९ साल वैशाख १ गतेदेखि लागू हुने गरी गरिएको सम्झौता अनुसार अवधि २५ वर्ष रहने उल्लेख छ। यस आधारमा सम्झौता २०८३ चैत मसान्तसम्म कायम हुनुपर्ने भए पनि कागजातमा २०८३ वैशाख मसान्त उल्लेख भएपछि विवाद उत्पन्न भएको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौतामा मिति उल्लेख गर्दा त्रुटि भएको स्वीकार गरेका छन्। उनका अनुसार २५ वर्षको पूर्ण अवधि अझै बाँकी रहेको र सम्झौता चैत मसान्तसम्म नै मान्य हुनुपर्ने हो। क्यानले राष्ट्रिय खेलकुद परिषद्मार्फत सम्झौता नवीकरणका लागि मन्त्रालयमा पहल गरिसकेको पनि उनले बताए।
यता त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले भने सम्झौतामा उल्लेखित मिति नै लागू हुने अडान राखेका छन्। उनका अनुसार २०८३ वैशाखसम्मको मिति कागजमै उल्लेख भएकाले सोही आधारमा सम्झौता समाप्त मानिनेछ।
यसबीच मन्त्रालय पुनर्संरचनापछि शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुवै निकाय परेकाले अब नवीकरणबारे निर्णय सोही मन्त्रालयले गर्ने बताइएको छ।
सम्झौताअनुसार क्यानले मैदानको भौतिक पूर्वाधार निर्माण, मर्मत–सम्भार तथा सञ्चालनको जिम्मेवारी लिएको छ भने त्रिविले आवश्यक बिजुली–पानी उपलब्ध गराउने व्यवस्था छ। साथै, त्रिविका विद्यार्थी, शिक्षक र कर्मचारीलाई खेल हेर्न ५० प्रतिशत छुट दिने प्रावधान पनि रहेको छ।
हाल मैदानमा १० हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेका छन्। करिब १० अर्ब रुपैयाँ लागतको दोस्रो चरणको स्तरोन्नति योजना समेत अघि बढिरहेको भए पनि सम्झौता विवादका कारण काम प्रभावित भएको छ।



















