Logo

२ जेठ,काठमाडौं । शिशिर खनालले विश्वव्यापी ऊर्जा तथा आपूर्ति प्रणालीमा देखिएको अवरोधले गरिबी निवारण र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न गम्भीर चुनौती उत्पन्न गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री खनालले विश्व शान्ति, स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व कायम गर्न कूटनीतिक संवाद अपरिहार्य रहेको उल्लेख गरे। उनले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीय सहयोगलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन र भू–राजनीतिक संकटबाट सबैभन्दा बढी प्रभावित अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरू, विशेषगरी नेपालजस्ता देशलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गरे।

मन्त्री खनालले उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा तथा दिगो आपूर्ति प्रणालीमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच बढाउनुपर्ने बताए।

यसैगरी, कमजोर अर्थतन्त्र भएका राष्ट्रहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपत्कालीन सहयोग तथा ऋण राहतका उपाय तत्काल सुनिश्चित गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक अडान तथा विश्वव्यापी आर्थिक न्यायको पक्षमा उठाएको आवाजलाई थप सशक्त बनाएको छ।


सम्बन्धित समाचार
भर्खरै